संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै



काठमाडौं ।

आज सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै छ। आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ भने राष्ट्रिय सभाको बैठक दिउँसो १: १५ बजे बस्दै छ। प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

उक्त नीति तथा कार्यक्रममा हालसम्म छलफल हुन सकेको छैन। सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ । नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन्।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा सामेल रहेको भन्दै संसदीय छानबिन समिति नबनेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने बताएको छ। संसदीय समिति गठन गर्न सहमति भएपनि समितिको कार्यादेशको विषयमा भने अझै सहमति हुन सकेको छैन। कार्यादेश बनाउन कार्यदल बनाए पनि पटक पटक भएका बैठक निष्कर्षमा पुगेको छैन।

कार्यदलको बैठक आज बिहान ९ बजे बस्ने बताइएको छ। कार्यदलमा संसदीय छानबिन समितिले गृहमन्त्री रवि लामिछानेको नाम तोकेर छानबिन गर्ने विषयमा विवाद छ। कांग्रेसले लामिछानेको नाम तोकेर छानबिन गर्नुपर्ने अडान लिएको छ भने एमाले र रास्वपा व्यक्तिको नाम तोकेर संसदीय छानबिन नहुने अडानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्