उभौली आपसी सद्‌भाव र एकता सुदृढ बनाउने माध्यमः राष्ट्रपति



काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले उभौली पर्वले समाजमा आपसी सद्‌भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्‍याउने बताएका छन् । किराँत समुदायको महान् पर्व उभौलीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले पर्वहरूले सामाजिक एकतासँगै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि भूमिका खेल्ने बताएका हुन्।

‘हाम्रा पर्वले देशको सांस्कृतिक विविधतालाई कायम राख्दै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्‌भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्‍याउँछ भन्ने विश्वास लिएको छु,’ राष्ट्रपति पौडेलले शुभकामना सन्देशमार्फत भनेका छन्, ‘उभौली पर्वले सबै समुदायका नेपालीबीचको सामाजिक सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समृद्ध, समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।’

किराँत समुदायको बाहुल्यता भएको नेपालका पूर्वी जिल्लाहरू र उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायहरूले यो पर्वलाई भव्य रूपमा मनाउने गर्दछन्।

प्रतिक्रिया दिनुहोस्