सिरोहिया पक्राउको सम्पादकहरूद्वारा विरोध

प्रेसलाई त्रासमा नराख्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण



काठमाडौं ।

विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा वरिष्ठ पत्रकारहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सञ्चारगृहबाटै गरिएको पक्राउको विरोध गरेका छन् ।

सिरोहिया पक्राउ परेको भोलिपल्ट बुधबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरू काठमाडौंमा भेला भई प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत रहँदै त्यसको रक्षा गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन्।

आकस्मिक रूपमा संगठित भएका सम्पादकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाँचबँुदे ध्यानाकर्षण–पत्र बुझाउँदै प्रेसलाई दबाब र त्रासमा नराख्न आग्रह गरेका छन् । प्रहरीले सिरोहियालाई मंगलबार कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको थियो ।

प्रधानमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा गृहमन्त्री रवि लामिछाने मिडियामाथि शत्रुभावका साथ जाइलागेको स्पष्ट पारिएको छ । साथै पत्रमा सहकारी ठगीको समस्या विकराल बनेको अवस्थामा अहिले लाखौं नेपालीले सहकारीमा बचत गरेको अर्बौं रुपियाँ अपचलनमा परेको सो कार्यमा गृहमन्त्री लामिछानेकै संलग्नता रहेको उल्लेख गरिएको छ।

‘लामिछाने सञ्चालक रहेको मिडिया कम्पनीले सहकारीको रकम हिनामिना गरेको स्थापित हुँदा पनि सत्ता दुरुपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई गृहमन्त्रीले रोकेका छन्। उनीमाथि प्रहरीले गरिरहेको छानबिन निष्पक्षतापूर्वक अघि बढाउने र मुद्दाको निष्पक्षतापूर्वक अभियोजन हुने वातावरण बनाउनु तपाईंको जिम्मेवारी रहेको स्मरण गराउँछौं’ –सम्पादकहरूले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ।

ध्यानाकर्षण पत्रमा स्मरण गराउँदै भनिएको छ– ‘सरकारमा पहिलोपटक गृहमन्त्री बन्दा रवि लामिछाने नेपालका नागरिक थिएनन्। अदालतको फैसलापछि उनले नेपालको नागरिकता पुनः प्राप्त गरेका भए पनि एकैपटक दुई देशको राहदानी बोकेको गम्भीर कसुरमा उनी सजायका भागीदार थिए र छन् ।’

सम्पादकहरूले बुझाएको ध्यानाकर्षण पत्रमा जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको स्पष्ट पार्दै कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका साथ गरिएको घटनाको रूपमा लिइएको स्पष्ट पारिएको छ ।

सम्पादकले उठान गरेका पाँच विषय
१. धरपकडको घटनाले प्रेसमाथि दबाब र त्रास सिर्जना गरेको छ ।
२. सिरोहियाको विषय अदालतले निरूपण गर्ने नै छ ।
३. एकैपटक दुईवटा राहदानी लिने गृहमन्त्री लामिछाने पनि सजायका भागिदार छन् ।
४. सहकारी ठगी प्रकरणमा लामिछानेमाथि निष्पक्ष छानबिन हुनुपर्छ ।
५. प्रेस स्वतन्त्रता हनन हुने गरी कुनै सम्झौता गर्दैनौं ।

प्रतिक्रिया दिनुहोस्