अचाक्ली भ्रष्टाचार : एकै कर्मचारीको गैरकानुनी कमाइ ६२ करोड



–विकलले बुझेका थिए विदेशी बैंकबाट कमिसनस्वरूप २९ करोड
–अमेरिकामा श्रीमतीको नाममा ६ करोडको घर खरिद
–भक्तपुरमा ५ रोपनी ७ आना जग्गा
–अमेरिकामा विभिन्न कम्पनीमा १३ करोडको सेयर

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गर्दै ६२ करोड बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अस्वाभाविक जीवनशैली र आयआर्जन देखिएको भन्दै आयोगले बुधबार पौडेलविरुद्ध अकुत सम्पत्तिमा मुद्दा दायर गरेको हो। आयोगले अभियोगपत्रमा पौडेलमाथि ६२ करोड १९ लाख १८ हजार ६ सय ८४ रुपियाँ गैरकानुनी रूपमा आर्जन गरी सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको दाबी गरेको छ।

सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक र अमेरिकाको बैंक अफ अमेरिकामा रहेको खातामा उनले २८ करोड ९५ लाख ७५ हजार ६ सय ८९ रुपियाँ कमिसनबापत बुझेको पाइएको अभियोग पत्रमा उल्लेख छ । विकलले श्रीमती एलिना बस्नेतको नाममा अमेरिकामा खरिद गरेको घरको स्रोतसमेत खुलाउन नसकेको अभियोग पत्रमा उल्लेख छ । उक्त घरको तत्कालीन मूल्यांकन ६ करोड ५ लाख ३३ हजार १ सय रुपियाँ रहेको छ ।

सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै मंगलबार मात्रै विशेष अदालतले पौडेललाई भ्रष्टाचारी ठहर गर्दै २ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले पौडेलबाट २५ करोड ४७ लाख बिगो असुल्नुपर्ने र त्यति नै रकम जरिवाना गर्नुपर्ने फैसला गरेको थियो । यसैक्रममा उनीविरुद्ध अकुत सम्पत्तिमा अर्को भ्रष्टाचार मुद्दा दायर भएको हो।

यसअघि अख्तियारले विकल पौडेलविरुद्ध झुटा विवरण पेस गरी सरकारी पदमा पुगेको र सुरक्षण मुद्रण केन्द्रमा अनावश्यक सामान खरिद गरेको आरोपमा दायर गरेको थप दुई मुद्दा विशेष अदालतमा विचाराधीन छन्।

यस अवधिमा विकलको वैध आय २ करोड १ लाख ४३ हजार ४ सय ८८ रुपियाँ मात्र रहेको अभियोगपत्रमा उल्लेख छ । विकलले अमेरिकाका विभिन्न कम्पनीमा १३ करोडको सेयर लगाएको अनुसन्धानका क्रममा पाइएको छ। साथै घूसबाट आएको रकमले काठमाडौं महांकालमा २९०.२५ वर्गमिटरको जग्गा खरिद गरेको समेत पाइएको छ।

त्यसै गरी घूस रकमबाटै विकलको आमा र दाइको नाममा भक्तपुरमा ५ रोपनी ७ आना जग्गा खरिद गरिएको समेत पाइएको अख्तियारले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्