सिरोहिया पक्राउको चौतर्फी विरोध, प्रेस स्वतन्त्रतामाथि धावा !

182
Shares

काठमाडौं ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको छ।

उहाँलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो। दोहोरो नागरिकता प्रकरणमा अनुसन्धानका लागि सिरोहियालाई थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ।

सिरोहिया पक्राउ परेपछि विभिन्न राजनीतिक दल, सञ्चार सम्बद्ध संघसंस्थाहरूले कडा विरोध जनाएका छन्। थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरी मीनभवनस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लगिएका सिरोहियालाई मंगलबारै धनुषा पठाइएको छ।

यसअघि सिरोहियाका दुईवटा नागरिकता रहेको भन्दै गृह मन्त्रालयले अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएलगत्तै धनुषा प्रहरीले जिल्ला अदालत धनुषाको आदेश लिई पक्राउ पुर्जी जारी गरेको थियो । सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएको बताइएको छ । सो जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरू प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसुरमा छानबिन गर्न माग गरिएको थियो।

सिरोहिया पक्राउपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, सत्ता पक्षका दल नेकपा एकीकृत समाजवादी पार्टीसहितका राजनीतिक दलहरूले लोकतन्त्र र प्रेस तथा अभिव्यक्तिमाथि हमला भएको बताएका छन्। नेकपा एकीकृत समाजवादीले सिरोहिया पक्राउ पर्नुले प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजिएको टिप्पणी गरेको छ।

महासचिव घनश्याम भुसालले प्रेस विज्ञप्ति जारी गर्दै मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय रहेको उल्लेख गर्नुभएको छ। नेकपा एसले यो कार्य कान्तिपुरको निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र होइन भन्ने सरकारले तुरुन्तै पुष्टि गर्नुपर्ने उल्लेख गरेको छ।

त्यस्तै, पत्रकारसँग सम्बन्धित विभिन्न संगठनहरूले पनि सिरोहिया पक्राउको विरोध गरेका छन्। सिरोहियाले सहकारी ठगी प्रकरणविरुद्ध समाचार लेख्दा प्रतिशोधपूर्ण तरिकाले आफूलाई प्रहरीले पक्राउ गरेको बताउनुभएको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको बचत अपचलन गरेको विषयमा समाचार लेखेकै आधारमा प्रतिशोध साँधेर सिरोहियालाई पक्राउ गरेको कान्तिपुरले दाबी गरेको छ।

घटना प्रतिशोधपूर्ण : पत्रकार महासंघ

नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेसन लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको ठहर गरेको छ। महासंघका महासचिव रोशन पुरीले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाएका सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालय परिसरबाटै पक्राउ गरिएको घटनालाई गम्भीरतापूर्वक लिइएको बताउनुभएको छ।

कानुनअनुसार हुने अनुसन्धानमा जहिल्यै साथमा रहने तर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्यशक्तिको दुरुपयोग स्वीकार नहुने महासंघले जनाएको छ।

स्वतन्त्र प्रेस र लोकतन्त्रको धज्जी : मिडिया एलाइन्स

मिडिया एलाइन्स नेपालले देशकै प्रतिष्ठित सञ्चारमाध्यमका रूपमा रहेको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले मंगलबार कार्यकक्षबाटै पक्राउ गरेको घटनाको विरोध र भर्त्सना गरेको छ ।

मिडिया एलाइन्सका तर्फबाट महासचिव दिरेक लाल श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै व्यक्तिगत पूर्वाग्रहका आधारमा शक्ति र सत्तामा बसेकाहरुबाटै मिडियामाथि आक्रमण हुनुले स्वतन्त्र प्रेस र लोकतन्त्रको धज्जी उडाएको बताउनुभएको छ।

मिडिया एलाइन्सले यस्ता सबैखाले कार्यहरु रोक्न तथा सञ्चारजगत्लाई निरुत्साहित नगर्न सरकारसँग आग्रह गर्दै सिरोहियाको शीघ्र रिहाइ गर्न माग गरेको छ।