१ सय ८ कलाकारले एकसाथ गाए बुद्धम् शरणम् गच्छामी



काठमाडौं ।

एक सय आठ गायक गायिकाको स्वरमा रेडर्क गरिएको श्लोक समावेश गरी तयार पारिएको त्रिशरण गमनम् एल्बम हालै राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

एल्बममा गौतम बुद्धप्रति समर्पित बौद्ध श्लोक बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी, संघम् शरणम् गच्छामी समेटिएको छ। यति धेरै कलाकारको स्वरमा रेकर्ड भएको बौद्ध मन्त्रोचरण यो नै पहिलो हो।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले श्लोक एल्बम सार्वजनिक गर्दै मानिसले सिक्दै भोग्दै र पढ्दै जानेको समाजवाद गौतम बुद्धले पहिला नै प्रतिपादन गरिसकेको चर्चा गरे। उपप्रधानमन्त्री यादवले गौतम बुद्ध नेपालमा नै जन्मेका हुन् भन्ने सन्देश विश्वभर फैलाउन तयार पारिएको श्लोकले विश्व शान्तिलाई मजबुत बनाउने विश्वास व्यक्त गरे।

एल्बम बुद्धशान्त पार्क निर्माण समितिले तयार पारेको हो। जुगल डँगोलले संगीत तयार पारेको श्लोक एल्बममा गायक गायिकाहरू ज्ञानु राणा, संगीता राना, जुजुकाजी रञ्जित, अमरराज शर्मा, रमना श्रेष्ठ, यमन श्रेष्ठ, प्रवेशमान शाक्य, लोचन भट्टराई, संगीता शाक्य, विजयनारायण मानन्धर, दिवाकर खड्का, निशा देशार, सानुबाबु महर्जन, केञ्जुमा सुब्बा, सरिता भारतीलगायत एक सय आठ गायक गायिकाको स्वरमा ४३ मिनेट लामो बुद्धम् शरणम् गच्छामी श्लोक रहेको छ।

एक सय आठपटक नै गाएर श्लोक तयार पारिएको संगीतकार जुगलले जानकारी गराए। ‘हरेक कलाकारले एक एक पटक यो श्लोक गाउनुका साथै सामूहिक रूपमा पनि गाउनु भएको छ। यसरी एक सय आठजनाको स्वरमा तयार पारिएको यो मन्त्रोचारण माधुर्य बनेको छ,’ संगीतकार तथा संगीत संयोजक डंगोलले भने।

कार्यक्रममा बोल्दै भीक्षु धर्ममूर्ति भन्तेले यसरी बुद्धम् शरणम् गच्छामीजस्तो पवित्र श्लोकलाई एक सय आठजनाको स्वरमा रेकर्ड गरेर एल्बमको रूपमा ल्याउनु ऐतिहाँसिक कार्य भएको चर्चा गरे।

बौद्धमार्गीहरूले एक सय आठपटक मालामा मन्त्र जप्ने भएकाले त्यति नै गायक गायिका स्वरमा श्लोक रेकर्ड गरिएको प्रस्तुतकर्ता बुद्धशान्त पार्क निर्माण समितिका अध्यक्ष शान्तबहादुर शाक्यले बताए।

हाल अडियोको रूपमा सार्वजनिक गरिएको एल्बमको श्लोकलाई भिडियोको रूपमा चा“डै नै तयार गरेर ल्याउने पनि उनले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्