बैंगलुरुले गुजरातलाई १६ ओभरमै हरायो



एजेन्सी ।

इन्डियन प्रिमियर लिगअन्तर्गत १७ औं संस्करणको आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स  बैंगलुरुले शानदार जित हासिल गरेको छ। यो खेलमा गुजरात टाइटन्सले २ सय १ रनको विजयी लक्ष्य दिएपनि  बैंगलुरुले १६ ओभरमै जित हासिल गरेको थियो।

९ विकेटको शानदार जित हासिल गरेको  बैंगलुरुका लागि विराट कोहली नटआउट रहेर ७० रन बनाए । तर, यो खेलका नायक इंग्लिस ब्याटर विल ज्याक्स रहे । उनले ४१ बलको सामना गरेर १० छक्का र ५ चौकाको सहयोगमा शतक बनाएका थिए ।

१ सय रनमा नटआउट रहेका विल पहिलो अर्धशतक प्रहार गर्न ३१ बलको सामना गरेका थिए। पछिको अर्धशतक प्रहार गर्न उनले १० बल मात्रै सामना गरेका थिए। १५ औं ओभरमा मोहित शर्माको बलिङमा उनले ३ छक्का र २ चौका प्रहार गरे। यो ओभरमा २९ रन आएको थियो ।

गुजरातले यसपछि १६ औं ओभरमा राशिद खानलाई बलिङमा ल्याएको थियो। तर, उनको बलिङमा पनि विलले रन बटुले। उनले यो ओभरमा ४ छक्का र १ चौका प्रहार गर्दै टोलीलाई जित दिलाउनुका साथै आफ्नो शतक पनि पुरा गरे।

यो  बैंगलुरुको लगातार दोस्रो जित हो। कूल १० खेलमा  बैंगलुरु ६ अंकसहित पुछारमा रहेको छ। गुजरात यो छैटो हार हो। गुजरात चार जितको सहयोगमा ८ अंकसहित सातौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्