प्रचण्ड गर्मीले जनजीवन प्रभावित



वीरगन्ज। 

 वैशाख लागेपछि उकालो लागेको यहाँको तापक्रम,दोस्रो हप्तामा आउँदा समेत निरन्तर बढ्दै गएपछि मधेश प्रदेशका जिल्लामा अत्यधिक गर्मी बढेको छ जसका  कारण घरबाहिर निस्कनै कठिन भएको छ । पछिल्लो दुई साता यता बढेको अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको हो ।

यहाँ औसत तापक्रम ३५–४० डिग्री सेल्सियसको हाराहारीमा पुग्दा सर्वसाधारणलाई सास्ती भएको छ । चर्को गर्मी र तातो हावा ‘लू’ चल्दा बाहिर काम गरेर जीविका चलाउनेहरूको दैनिकी निकै कष्टकर बन्दै गएको छ ।अहिले तराईका जिल्लामा उखरमाउलो गर्मीको कारण बालबालिकादेखि वृद्ध वृद्धासम्म प्रभावित छन् ।

गर्मी बढ्दै गएपछि बजार समेत सुनसान बनेको छ ।वैशाखको पहिलो सातादेखि तापक्रम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।जलवायु परिवर्तनको प्रभावका कारण गर्मी अत्यधिक बढेको हो । मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगन्जस्थित सरकारी तथा निजी अस्पतालहरु, क्लिनिक लगायत ग्रामीण भेगमा स्वास्थ्य सस्ंथाहरुमा बिरामीहरुको सङख्यामा समेत वृद्धि भएको छ ।यति बेला गर्मीका कारण हुने स्वास्थ्य समस्या लिएर आउने बिरामीको भने संख्या ह्वात्तै बढेको चिकित्सकहरुले बताएका छन् ।

उखरमाउलो गर्मी र तातो हावा चल्दा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुने, वान्ता हुने लगायतका असर देखिने गर्छ । तातो हावाबाट बच्नका लागि गर्मीको समयमा सकेसम्म घरमै बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।गर्मीबाट जोगिन पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउन, छाता र पानी लिएरमात्र घरबाहिर निस्किन उनीहरुले सुझाव दिएका छन् ।

 यसैबीच गएको वर्ष जसरी नै यस वर्ष पनि वीरगन्जमा खानेपानीको समस्या देखिएको छ । वीरगञ्जका केही स्थानहरुमा खानेपानीको समस्या देखिएको नगरवासीहरुले बताएका छन् । गएको वर्ष पनि खडेरीको समयमा वीरगन्जमा पानीको समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्