पाकिस्तानी दूतावासद्वारा १८० नेपाली  विद्यार्थीलाई छात्रवृत्ति प्रदान 



काठमाडौं। 

नेपालस्थित पाकिस्तानी दूतावासले नेपालका वार्षिक रुपमा दिँदै आएको छात्रवृत्ति अन्तर्गत यस पटक पनि एक सय ८० विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
दूतावासले बुधकार राजधानीमा आयोजना गरेको १२ औं ‘एम्बासडर अफ पाकिस्तान’ छात्रवृत्ति पुरस्कार समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति हस्तान्तरण गरेका थिए । सो अवसरमा एक जना उत्कृष्ट विद्यार्थीलाई ल्यापटप पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा सचिव अधिकारीले नेपालको शिक्षा क्षेत्रमा पाकिस्तानले पुर्‍याएको योगदानको प्रशंसा गर्दै भने– ‘पाकिस्तानको यो छात्रवृत्ति कार्यक्रमले नेपाल र पाकिस्तानबीचको गहिरो मित्रता झल्काउँछ । युवाको शिक्षामा गरेको सहयोग सबैका लागि लाभदायी हुने भएकोले यस्तो खालको सहयोगमा निरन्तरता रहने विश्वास लिएको छु ।’

नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हास्मीले पाकिस्तानले नेपालमा छात्रवृत्ति कार्यक्रमका साथै तेस्रो तहदेखि माध्यमिक शिक्षासम्मको सहयोग विस्तारका लागि निरन्तर सहयोग गरिरहने बताए । उनले शिक्षा, खेलकुद र स्वस्थ सामाजिक क्रियाकलापको क्षेत्रमा युवाहरुको सक्रिय सहभागितालाई पाकिस्तानले सर्धै उत्प्रेरित गर्ने बताए ।

‘एम्बासडर अफ पाकिस्तान’ छात्रवृत्ति कार्यक्रम सन् २०१३ मा सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्