प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्नेलाई एक/ एक लाख रुपियाँ 



 खोटाङ  ।   

 खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाले प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्ने छात्र-छात्रालाई छात्रवृत्ति स्वरुप जनही  एक/एक लाखका दरले प्रोत्साहन रकम उपलब्ध गराउने कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले तयार पारेको छात्रवृत्ति कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८० अनुरुप पहिलो पटक वडा नम्बर ४ बडहरेका विकेश सिलवाल र वडा नम्बर ६ मङ्गलटारका हेमन राईलाई जनही  एक/एक लाखका दरले प्रोत्साहन रकम उपलब्ध गराएको हो ।

 सिलवाल एभरेष्ट इन्जिनियरिङ कलेज ललितपुर तथा राई कान्तिपुर ईन्टरनेश्नल कलेज काठमाडौँमा सिभिल इन्जिनियरिङ विषयको स्नातक तह अध्ययनरत रहेको  जनाइएको छ । नगरपालिकाले जारी गरेको सूचनाको आधारमा आवेदन परेपछि नगरपालिकामा गठित छनोट समितिको सिफारिसको आधारमा प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कैलाशबहादुर ठकुराठीले जानकारी दिएका छन् ।

नगर कार्यपालिकाद्वारा पारित छात्रवृत्ति कार्यक्रम अन्तरगत पहिलो पटक दुईजना छात्रलाई प्रोत्साहन रकम उपलब्ध गराइएको नगर प्रमुख विमला राईले जनाइन् । नगरपालिकाले रोजगारमूलक गुणस्तरीय शिक्षामा जोड दिँदै प्राविधिक विषयमा अध्ययन गर्न/गराउन छात्रवृत्तिस्वरुप जनही एक लाखका दरले प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याइएको नगर प्रमुख राईको भनाई छ ।

नगर प्रमुख राईका अनुसार चिकित्साशास्त्रका विषयहरु, कृषि तथा पशु विज्ञानका विषयहरु, वन तथा वातावरण विज्ञानका विषयहरु, इन्जिनियरिङका विषयहरु र सूचना प्रविधिका विषयहरुगरी पाँचवटा विषयमा उच्च शिक्षा अध्ययन गर्ने छात्रछात्रालाई प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । नगरपालिकाले उपलब्ध गराउने प्रोत्साहन रकम पाउन छात्रछात्राले कलेज भर्ना भएको प्रमाणसहित आवेदन दिनुपर्ने हुन्छ ।

नगरपालिकाले कार्यान्वयनमा ल्याएको छात्रवृत्ति रकम पाउनका लागि स्नातक तह अध्ययनरत छात्रछात्राले मात्र आवेदन दिन पाउने व्यवस्था छ । छात्रवृत्तिका लागि आवेदन दिन छात्रछात्रा सोही नगरपालिकाको हुनुपर्ने, जेहेन्दार, दलित तथा विपन्न परिकारको सदस्य हुनुपर्ने, फौजदारी अभियोगमा कसुरदार नठहरिएको हुनुपर्ने, प्रतिवद्धतापत्रका शर्तमा लिखित सहमति जनाउनुपर्ने र नेपालभित्रै सञ्चालित शैक्षिक संस्थामा अध्ययनरत रहेको हुनुपर्ने नगरपालिकाले तयार पारेको कार्यविधिमा उल्लेख छ ।

नगरपालिकाले कार्यान्वयनमा ल्याएको छात्रवृत्ति कार्यक्रमको लागि छात्रछात्राको सङ्ख्या निर्धारण गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्