सिटीको तेहेरो उपाधि जित्ने सपना समाप्त



काठमाडौं ।

रियल मेड्रिडले इङ्ग्लिस क्लब म्याचेस्टर सिटीको तेहेरो उपाधि जित्ने सपना समाप्त गरेको छ। बुधबार राति पेनाल्टी शूटआउटमा सिटी स्पेनी ला लिगा क्लब रियलसँग ४–३ ले पराजित भएपछि सिटीको अब प्रिमियर लिग र एफए कप जित्ने सम्भावना मात्रै बचेको छ। साथै डिफेन्डिङ च्याम्पियन रहेको सिटी क्वार्टरफाइनलबाटै बाहिरियो भने १४ पटकको विजेता रियलले सेमिफाइनल यात्रा तय गर्‍यो ।

रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप समय १–१ को बराबरी टुङ्गिएको थियो । समग्रमा ४–४ बराबरी भएपछि नतिजा निकाल्न टाई ब्रेकरमा पुगेको थियो । यसअघि रियलको मैदानमा भएको पहिलो लेग ३–३ को बराबरीमा टुङ्गिएको थियो ।

दोस्रो हाफमा केभिन डि ब्रएनको बराबरी गोलमा सिटी खेलमा फर्केको थियो । डि ब्रुएनले ७६ औँ मिनेटमा गोल गरेका थिए।  रियलले रोड्रिगोको गोलमा १२ औँ मिनेटमा अग्रता लिएको थियो ।

आर्सनल पनि पराजित

अर्को इङ्ग्लिस क्लब आर्सनल पनि क्वार्टरफाइनलबाटै बाहिरियो । आर्सनल जर्मन क्लब बायर्न म्युनिखसँग समग्रमा ३–२ ले पराजित भएको थियो। योसँगै बायर्न सेमिफाइनलमा पुगेको छ । यसअघि आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुङ्गिएको थियो ।

बुधबार राति बायर्नको मैदानमा भएको दोस्रो लेगमा बायर्नले आर्सनललाई १–० ले हराएको थियो। टोलीका लागि जोसुवा किमिचले निर्णायक गोल गरेका थिए। यो सिजन जर्मन बुन्डेस लिगा उपाधिबाट विमुख भएको बायर्न च्याम्पियन्स लिग जित्ने सम्भावनालाई भने जीवित राखेको छ।

अब फाइनल प्रवेशका लागि बायर्नले स्पेनिस क्लब रियलको सामना गर्नेछ। अर्को सेमिफाइनल खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब बोरुसिया डर्टमन्डबीच हुनेछ।

प्रतिक्रिया दिनुहोस्