कतारले साउदी अरेबियालाई हराएपछि नेपाल समूह विजेता बन्यो



काठमाडौँ । 

एसीसी प्रिमियर कप अन्तर्गत कतारले साउदी अरेबियालाई पराजित गरेको छ । मंगलबार सम्पन्न समूह ए अन्तर्गतको खेलमा कतारले साउदी अरेबियालाई १५ रनले पराजित गरेको हो ।

कतारले दिएको १५४ रनको लक्ष्य पछाएको साउदी अरेबियाले २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन मात्र बनाएपछि कतारले खेल १५ रनले जितेको हो ।

यसअघि कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको थियो ।

यो जितपछि कतारको ४ खेलमा ४ अंक भएको छ र समूह ए मा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै साउदी अरेबियाको भने ३ खेलमा २ अंक रहेको छ ।

त्यस्तै समूह ए मा यो खेलपछि ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको नेपाल समूह विजेता बनेको छ । नेपाल आफ्नो अन्तिम खेल अघि नै समूह विजेता बनेको हो । अब नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार साउदी अरेबियासँग खेल्दै छ ।

त्यस्तै सेमिफाइनलमा पुगिसकेको नेपालले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्ने निश्चित भएको छ । त्यसैगरी समूह ए बाट सेमिफाइनलमा पुग्ने अर्को देशको टुंगो भने  अब अन्तिम खेलहरुबाट लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्