पाकिस्तानी दूतावासले मनायो ८४औँ राष्ट्रिय दिवस



काठमाडौँ। 

काठमाडौँस्थित पाकिस्तानी दूतावासले आइतबार पाकिस्तानको ८४औँ राष्ट्रिय दिवस मनाएको छ । पाकिस्तान संकल्प दिवस वा गणतन्त्र दिवस पनि भनिने पाकिस्तानको राष्ट्रिय दिवस हरेक वर्ष मार्च २३ का दिनमा मनाइने भएता पनि यो वर्ष मार्च ११ तारिखदेखि मुस्लिम धर्मावलम्बीहरुको एक महिना लामो रमजान परेको हुनाले रमजान सकिएपछि दूतावासले विशेष कार्यक्रम गरी राष्ट्रिय दिवसको मनाएको हो।

उपराष्ट्रपति डा. रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा शुरु भएको उक्त कार्यक्रममा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपसभामुख इन्दिरा रानामगर, परराष्ट्र सचिव सेवा लम्साल, नेपाली सेनाका पूर्व प्रमुखहरुका साथै विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हासमीले मुलुकका पूर्वजहरुको संघर्ष, दृष्टिकोण र दृढ संकल्पप्रति श्रद्धाञ्जलि अर्पण गर्दै विश्व शान्ति, मित्रता र शान्तिपूर्ण सहअस्तित्वका लागि पाकिस्तानको महत्त्वपूर्ण योगदान रहेको बताए ।

उनले सन् १९६० मा नेपाल र पाकिस्तानबीच दौत्य सम्बन्ध स्थापना भएयता दुई देशबिचको मैत्री सम्बन्ध र आपसी सहयोगमा निरन्तर अभिवृद्धि हुँदै गएको बताए । उनले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, रक्षाका साथै जलवायु परिवर्तनलगायतका क्षेत्रमा सहकार्य गर्दै दुई देशबिचको आपसी सम्बन्ध झनै मजबुत हुँदै जाने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्