रक्त क्यान्सर बिरामीलाई आर्थिक सहयोग 



काठमाडौँ।

क्यान्सरका बिरामीहरूको उपचारको लागि होस्टेमा हैँसे गर्दै आएको सामाजिक संस्था ‘उपचारको लागि सहयोगी हातहरु’ ले रक्त क्यान्सरको उपचार गराइराखेका एक  युवालाई २० हजार नगद सहयोग गरेर २०८० साललाई बिदाइ गरेको छ ।

एकपटक क्यान्सर भएर उपचार गर्दागर्दै आर्थिक अभावका कारण विचैमा उपचार छोडेका कारण पुनः क्यान्सर बल्झेका कीर्तिपुरका २१ वर्षीय  आशीर्वाद कार्कीको थप उपचारको लागि सो रकम प्रदान गरिएको हो ।

नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धिकी निर्देशक समेत रहेकी ‘उपचारको लागि सहयोगी हातहरु’ संस्थाकी संस्थापक एवम् अध्यक्ष स्वरुपा श्रेष्ठले सो अस्पतालका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठको उपस्थितिमा क्यान्सरका बिरामी कार्कीलाई शुक्रवार सो रकम प्रदान गरेकी हुन् ।

त्यसो त आफ्नो अस्पतालमा उपचार गराइराखेका बिरामी बाहेक अन्य अस्पतालमा उपचार गराइराखेका बिरामीहरूलाई आर्थिक या अरु कुनै सहयोग गर्ने परम्परा नभएको बेलामा ‘उपचारको लागि सहयोगी हातहरु’ संस्थाले भने सिभिल अस्पतालमा उपचार गराइराखेका बिरामी कार्कीलाई आर्थिक सहयोग उपलब्ध गराएकोमा धेरैले प्रशंसा गरेका छन् ।

सो संस्थाले एक वर्षको अवधिमा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरको साथै अन्य अस्पतालमा क्यान्सरको उपचार गराइराखेका विपन्न बिरामीहरूलाई करिब ९ लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको संस्थाकी अध्यक्ष स्वरुपा श्रेष्ठले बताइन् ।

क्यान्सर निको भएका र अन्य समाजसेवीहरुबाट प्राप्त भएको रकमबाट पारदर्शीरुपमा विपन्न क्यान्सर बिरामीहरूलाई सहयोग गरिरहेको र सहयोगको रकम जुट्दै गएमा भविष्यमा पनि यो क्रम निरन्तर जारी रहने अध्यक्ष श्रेष्ठले बताइन् ।

क्यान्सर निको भएका र उपचारका क्रममा रहेका बिरामीहरूको ४६ औँ मासिक बैठकका अवसरमा सो रकम हस्तान्तरण गरिएको थियो भने कार्यक्रममा क्यान्सर विजेताहरुले नाचगान गर्दै २०८० सालको बिदाइ तथा २०८१ सालको स्वागत गरेका थिए ।

कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सररोग विशेषज्ञ सुदिप श्रेष्ठ, डा.मुरारीमान श्रेष्ठ, डा.गिसुपनिख प्रसिको,प्रमुख कार्यकारी निर्देशक कपिल गौतम, संस्थाका उपाध्यक्ष शशांक शर्मा लगायतले नयाँ वर्षमा आफूहरूले गर्ने नयाँ कामको प्रतिबद्धता सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्