स्रष्टाको शालिक मुनि बसेर रचना वाचन गर्दै नयाँ वर्ष मनाइयो



 उदयपुर । 

उदयपुरका स्रष्टाहरुले नयाँ वर्ष २०८१ को अवसरमा स्रष्टाको शालिक मुनि बसेर रचना गर्दै नयाँ वर्षको शुभकामना आदान प्रदान  गरेका छन् ।
उदयपुर साहित्य कला प्रतिष्ठान र गम्भीर साहित्य प्रतिष्ठानको संयुक्त आयोजना तथा त्रियुगा नगरपालिका वडा नं ६ को सौजन्यमा भएको सो रचना वाचन कार्यक्रममा उदयपुरका प्रतिष्ठित साहित्यकारहरु र बालकविहरुको सहभागिता रहेको थियो ।

उदयपुर साहित्य कला प्रतिष्ठानका महासचिव माधव पोखरेल गोज्याङ्ग्रेको अध्यक्षता र वरिष्ठ पत्रकार, साहित्यकार तथा उदयपुरका इतिहासकार कौशल चेम्जोङको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा कवि कुवेरकान्त काफ्लेले स्वागत मन्तव्य दिएपछि रचना वाचन सुरु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार कौशल चेम्जोङले उदयपुरमा गम्भीर बहादुर थापाले गर्नु भएको साहित्यिक योगदान तथा सामाजिक जनचेतनाको सन्देशधेरैका मनमा बास बसेकोले र समाजलाई विकासको बाटोमा लैजान गरेको योगदानको हामी सबैले कदर गर्नु पर्ने बताए ।
उनले थापा राजनतिक रुपमा मात्र होइन साहित्यिक रुपमा पनि सक्रिय पहरेदारका रुपमा रहेको उदाहरण थापाले लेखेको कविताबाट पनि स्पष्ट हुने बताए।

सो कार्यक्रमका विशिष्ट अतिथि तथा साहित्यकार पुण्य कार्कीले जनकवि गम्भीर बहादुर थापाको जीवन यापन तथा उनले  रचना गरेका  तत्कालीन अवस्थाका कविताहरुले आज पनि हामी सबैलाई घोचिरहने र ती रचनाहरु आजको अवस्थामा पनि सान्दर्भिक भएको बताए ।

गम्भीर बहादुर थापाका ज्येष्ठ सुपुत्र गोविन्द बहादुर थापाको उपस्थिति रहेको सो कार्यक्रममा जलजले गाउँमा रहेका जनकवि थापाका आफन्त नातेदारहरुको र स्थानीय बुद्धिजीवी, व्यापारी लगायतकाको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त रचना वाचन कार्यक्रममा त्रियुगा नगरपालिका वडा नं ट का कार्यबाहक वडाध्यक्ष सुशील राई, बरुवा क्याम्पसका क्याम्पस प्रमुख भीम बहादुर खड्काले शुभकामना मन्तव्य दिएका थिए भने कविहरु माधव पोखरेल गोज्याङ्ग्रे हरिशरण खतिवडा, गोठकृष्ण ठकुरी, गोपाल कीर्ति, ओमप्रकाश ठकुरी, विरस बाबु शाही, जीवन आरोही,हर्कनारायण श्रेष्ठ,कीर्ति बहादुर खड्का, सरिता पौडेल लगायतकाले रचना वाचन गरेका थिए भने बालकविहरु गरिमा तिम्सिना र दिलासा न्यौपाने लगायतकाले आ आफ्नो रचना वाचन गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्