चौध फरार प्रतिवादी पक्राउ

2.54k
Shares

उदयपुर ।

 जिल्ला प्रहरी कार्यालय उदयपुरले उदयपुर जिल्ला अदालतको विभिन्न मितिको फैसलाबाट दोषी ठहर भै जरिवाना र कैद सजाय तोकिएका चौधजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार २०८० जेष्ठ १४ गतेको फैसलाले लागु औषध मुद्दामा २ महिना एघार दिन कैद सजाय र २७ हजार जरिवाना तोकिएका त्रियुगा नगरपालिका ३ मोतिगडाका वर्ष २८का नवीन चौधरीलाई पक्राउ गरेको हो ।

यसैगरी उदयपुर जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहरिएका कैद, सजाय र जरिवाना तोकिएका अन्य १३जनालाई २५ गते सोमबार पक्राउ गरी फैसला कार्यान्वयनकालागि उदयपुर जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसरी विभिन्न मुद्दामा पक्राउ पर्नेहरु सबै फरार अवस्थामा रहेका थिए । पक्राउ पर्नेहरुमा अभद्र व्यवहार मुद्धामा २० दिन कैद सजाय भएका त्रिनपा ३ मोतिगडा बस्ने वर्ष २८ को राजेश लोहनी, चोरी मुद्दामा त्रिनपा १२ बुद्ध टोल बस्ने वर्ष ३५ को कुकिया उर्मौला सहनीलाई १ महिना १३ दिन कैद सजाय तोकिएको थियो । त्रिनपा ५ श्रीपुर बस्ने वर्ष ४४ को भोज कुमार निरौलालाई सवारी ज्यान मुद्दामा २ दिन कैद तोकिएको र सोही मुद्दामा त्रिनपा ६ जलजले बस्ने वर्ष २२ को मुकेश कुमार चौधरीलाई १ दिन कैद र रु १५,००० जरिवाना तोकिएको थियो ।

त्यस्तै  त्रिनपा १३ बस्ने गाली बेईज्जती मुद्दाका फरार प्रतिवादी वर्ष ३५ को अर्विन कुमार चौधरी,चोरी मुद्दाको त्रिनपा १३ बस्ने वर्ष ४९ को रत्नमणी चौधरी, जालसाजी कसुरका त्रिनपा १३ बस्ने वर्ष ६७ को प्रेम कुमार राउत, जालसाजी मुद्दाका फरार प्रतिवादी त्रिनपा १३ बस्ने वर्ष ४० को सुरेश कुमार राउत, वन मुद्दाका फरार प्रतिवादी त्रिनपा १३ बस्ने वर्ष ४३ को विनोद भन्ने दिनेश दनुवारलाई जरिवाना रु २४ हजार ८सय६० तोकिएको थियो ।

पक्राउ पर्ने अन्यमा त्रिनपा १३ बस्ने करकाप कसुरको यतहु चौधरी, कुटपिट मुद्दाको त्रिनपा १३ बस्ने वर्ष ४५ को दीपेन्द्र यादव, कुटपिट मुद्दाको त्रिनपा १३ बस्ने वर्ष ५८ की अल्छीदेवी तेली, कुटपिट मुद्दाको त्रिनपा १३ बस्ने कुशेश्वर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनकालागि जिल्ला अदालत उदयपुरमा सोमबार नै बुझाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Skip This