मुक्तिनाथ अधिकारीको जीवनी वृत्तचित्र र स्मृतिग्रन्थ सार्वजनिक



धादिङ । 

आफू नपढेरपनि मैदीबासीका लागि विश्वविद्यालयजस्तो उँचो नाम बनाउन सफल ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ का मुक्तिनाथ अधिकारीको पहिलो स्मृति दिवस उनको निवासमा जीवनीमा आधारित वृत्तचित्र र स्मृति ग्रन्थ सार्वजनिक गरेर मनाइएको छ ।

तत्कालीन मैदी गाउँपंचायतमा वि स १९८७ साल असोज १५ गते मुक्तिनाथ अधिकारीको जन्म भएको थियो । ७ वर्षको उमेरमा ब्रतबन्ध गरि ८ वर्षको उमेरमा नन्द कुमारीसँग विवाह भयो । आफू २७ वर्षको हुँदा पत्नी नन्द कुमारीको निधन भएपछि एक कुमारीसँग दोस्रो विवाह गर्न बाध्य भए  । उनको   ५ छोरा ५ छोरी छन् ।

अधिकारकिो थातथलो सिरुवानीबाट मैदी बसाइँ सरेर आएका मुक्तिनाथको पुर्खा अधिले नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा उच्च ओहदामा समेत पुगेका छन् ।

बाँचुन्जेल सदैव जनताको हित, मानवधर्म, सामाजिक सेवा र शैक्षिक उन्नयनका लागि आफूलाई समर्पित गरेका  अधिकारी वि स २०७९ साल चैत्र २ गते ९२ वर्षको उमेरमा निधन भएको थियो ।

आफूले औपचारिक शिक्षा नपाए पनि गाउँमा विद्यालय नभएकोले वि स. २०२१ सालमा शमिभञ्ज्याङमा प्रावि स्थापना भएपनि ५ कक्षा भन्दा माथी पढ्का लागि छोराछोरीले गाउँनै छोड्नुपर्ने अवस्थाले उनले मनमा माथिल्लो तहको विद्यालय खोल्ने चाहना बमोजिम शमिभज्याङ नि मा वि, माध्यामिक, उच्च् माविसम्म स्थापना, गर्नुभएकोले गाउँमा शिक्षासेवी भनेर मुक्तिनाथ अधिकारीलाई चिनिन्छ ।

अधिकारीको पहलमा  ठुलोचौर प्रावि मैदी, अमरावती प्रावि मैदी र देउराली प्रावि ससाह लगायतको विद्यालय स्थापना भएको पाइन्छ ।
वडा अध्यक्ष भएर कृषिमा क्रान्ति नै गरेका छन् । गुठी बिर्ता गुठीमा जनताको पक्षमा फैसला गराउन आफैँ अड्डा अदालत पुग्ने र कानुन पढेर जाने मुक्तिनाथ अधिकारीको जीवनीमा आधारित ५० मिनेट लामो वृत्तचित्रको लोकार्पण गरिएको छ । मुक्तिनाथका बहिनी ८७ वर्षीया बालकुमारी अर्यालले वृत्तचित्रको सार्वजनिकीकरण गरेका थिए । सीताराम अधिकारीले लेखन, निर्देशन गरेको  वृत्तचित्रकोमा सामाजिक अगुवाहरुको भनाइहरु समेत समावेश छ ।

सोही अवसरमा मुक्तिनाथ स्मृतिग्रन्थको विमोचन समेत गरिएको छ । मुक्तिनाथ स्मृति सेवा समाजद्वारा ३ सय ५२ पृष्ठको स्मृतिग्रन्थमा ८५ विषयहरु समावेश गरिएको समालोचक डा रामहरि लम्सालले बताए । प्राज्ञ नरनाथ लुइटेल, डा. रामहरि शर्मा लम्साल, लेखनाथ अर्यालको अतिथि सम्पादक रहेको स्मृतिग्रन्थको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ स्थित निवासमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।

कार्यक्रममा संविधानसभा सदस्य शेषनाथ अधिकारी, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, बागमती प्रदेश सभा सदस्य शिवराज अधिकारी, नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगाना, ज्वालामुखी गाउँपालिका अध्यक्ष यमनाथ दनै लगायतले मुक्तिनाथ अधिकारीको विविध आयाम र योगदानमाथि चर्चा गर्दै पदचाप पछ्याउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्