चीनमा नेपाली बजार खोज्न गोष्ठी



काठमाडौं ।

फिल्म, टेलिभिजन, लोक संस्कृति र कलाका क्षेत्रमा बृहत्तर सहकार्य र आदानप्रदान गर्ने उद्देश्यका साथ चाइना नेपाल फिल्म, टेलिभिजन एन्ड कल्चरल एसोसियसनले राजधानीमा गोष्ठी आयोजना गरेको छ।

गोष्ठीमा नेपाली र चिनियाँ फिल्मकर्मीबीच चिनियाँ बजारमा नेपाली फिल्मका लागि भविष्यमा गर्न सकिने सहकार्यबारे छलफल भयो।

संस्थाका अध्यक्ष पिटर ली (ली होङ्शु) को नेतृत्वमा भएको गोष्ठीले दुई देशबीचको सम्बन्धलाई जनस्तरमा सुदृढ पार्न र फिल्म तथा सांस्कृति आदान–प्रदानमा महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे। चीनको तर्फबाट अध्यक्ष पिटर ली, निवेशक इभचियाजु र संस्थाकी निर्देशक जियाङ बो सहभागी थिए।

त्यसै गरी नेपालबाट नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, समाजकी पूर्वअध्यक्ष रक्षासिंह राणा, नेपाल चलचित्र निर्माता संघका पूर्वअध्यक्ष आकाश अधिकारी, लेखक निर्देशक मनोज पण्डित, ऋषि लामिछाने, केदार श्रेष्ठ, फिल्म सम्पादक शिव पुरी, फिल्म सम्पादक तथा कलरिष्ट भरतमणि रेग्मी, निर्माता निर्देशक राजेन्द्र शलभ, केपी पाठक, नवल नेपाल, निर्माता तथा कलाकार सुशान्त श्रेष्ठ र सुशीला महर्जनलगायत सहभागी थिए।

गोष्ठी आईटी, न्यू मिडिया प्रोफेसनल तथा सम्पादक करुण थापाको संयोजनमा सम्पन्न भएको थियो। गोष्ठीले नेपाली प्रतिनिधका तर्फबाट चिनियाँ समकक्षीबीच सञ्चार र सहकार्यलाई सहज बनाउनका थापालाई जिम्मेवारी दिएको छ भने चीनका लागि एसोसियनका अध्यक्षका तर्फबाट बो जियाङले जिम्मेवारी लिएकी छन्।

‘यस्ता कार्यक्रमले नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानमा कोसेढुंगाको रूपमा काम गर्ने तथा फिल्म र कलाको माध्यमबाट गहिरो सहयोग र आपसी समझदारीका लागि मार्ग प्रसस्त गर्नुका साथै नेपाली फिल्मले नयाँ बजार पाउने अवसर हुन सक्छ,’ कार्यक्रम संयोजक करुण थापाले भने।

गोष्ठी चाँडै नै चिनियाँ र नेपाली युवाका बीच छोटो फिल्म प्रतियोगिता आयोजना गर्ने र सन् २०२४ को उत्तरार्धमा चीनमा एक हप्ता लामो नेपाली फिल्म फेस्टिभल आयोजना गर्ने निक्र्यौलका साथ सम्पन्न भएको छ।

सन् २०२२ मा ग्वाङ्झाउमा रहेको नेपालको महावाणिज्य दूतावाससँगको भेटमा लीको नेपाल, यसको समृद्ध संस्कृति र बढ्दो फिल्म उद्योगप्रतिको चासो देखा परेपछि नेपाली फिल्मलाई चिनियाँ बजारमा परिचय गराउने तथा फिल्म र टेलिभिजनलगायत विभिन्न क्षेत्रमा लगानी सहज बनाउने लक्ष्यका साथ चाइना नेपाल फिल्म, टेलिभिजन एन्ड कल्चरल एसोसियसन स्थापना भएको थियो।

प्रतिक्रिया दिनुहोस्