टेनिस खेलाडीका प्रेमीद्वारा आत्महत्या



लन्डन, (एजेन्सी)

विश्व वरियतामा दोस्रो स्थान ओगटेकी स्टार महिला टेनिस खेलाडी एरिना सबालेन्काका प्रेमीले आत्महत्या गरेका छन् ।
आईस हक्की खेलाडी कान्स्टेसटन कोल्टसोभले आत्महत्या गरेका हुन् । आत्महत्याको कारण भने खुलाइएको छैन । कोल्टसोभले मायामीको एक पाँच तारे होटलको छतबाट हाम फालेर आत्महत्या गरेको बताइएको छ । तर, प्रहरीले भने अत्याधिक मद्यपान गरेका कारण छतबाट खसेको हुन सक्ने आशंका गरेका छन् । प्रहरीले उनको कुनै सुसाइड नोट फेला नपरेको तर उनका साथबाट रक्सीको खाली बोतल भने भेटाएको बताए ।

बेलारुसकी सबालेन्का र कोल्टसोभ विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । सबालेन्काले हालै अष्टे«लियन ओपन २०२४ को उपाधि जित्दा कोल्टसोभ फाइनलमा उनको हौसला बढाउन खेलस्थलमा पुगेका थिए । सबालेन्काले अष्टे«लियन ओपनको उपाधि जित्दा यी प्रेमी र प्रेमिकाले अँगालोमा कसिएर खुशी बाँडेका थिए ।

कोल्टसोभले बेलारुसको तर्फवाट आईस हक्कीका थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाएर पदक समेत जितेका थिए । कोल्टासोभले बेलारुसको तर्फवाट दुई शीतकालीन ओलम्पिक्समा सहभागिता जनाउनुका साथै नौं पटक विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए । आफ्ना प्रेमीले आत्महत्या गरेपछि सबालेन्काले उनको मृत्यु एक अकल्पनीय र त्रासदीपूर्ण भएको बताइन् । उनले भनिन,–‘उनको आत्महत्याले मेरो मुटु निकै टुक्रिएको छ । कृपया यो कठिन समयमा मेरो र उनका परिवारको गोपनीयतालाई सम्मान गर्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्