खेलकुदमन्त्री श्रेष्ठलाई ओलम्पिक कमिटीको स्वागत



काठमाडौं ।

नेपाल ओलम्पिक कमिटीले नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको स्वागतमा शुक्रबार विशेष कार्यक्रम गरेको छ ।

कमिटीका प्रमुख पदाधिकारी तथा विभिन्न संघका अध्यक्षहरूले मन्त्री श्रेष्ठको कार्यकालको सफलताको कामना गरेका थिए । त्यस अवसरमा मन्त्री श्रेष्ठले नेपाली खेलकुदको विकासका लागि सबै क्षेत्र मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए।

उनले अन्तर्राष्ट्रिय मञ्चमा कुटनीतिक सम्बन्ध बढाउन र त्यसलाई मजबुत बनाउन खेलकुद सबैभन्दा उपयुक्त माध्यम भएको बताए । त्यस्तै कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मन्त्री श्रेष्ठको कार्यकालमा नेपाली खेलकुदको विकासमा थप टेवा पुग्ने विश्वास पोखे । उनले खेलकुद संघहरू स्वायत्त रहेको बताउँदै उनीहरूले देशको प्रचलित ऐन कानुन मान्नु पर्नेमा कुनै शंका नभएको बताए ।

त्यस अगाडि कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले कार्यक्रममा सहभागीको स्वागत गरे । त्यस्तै, राष्ट्रिय संघहरूका प्रतिनिधित्व गर्दै नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले आफ्नो धारणा राखे । नेपाल इक्वेस्टेरियन संघका अध्यक्ष रवि राजकर्निकारले ओलम्पिक संरचनाबारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्