‘क्वालिटी र क्वान्टिटीको कामलाई प्राथमिकता दिएका छौं’



बालकृष्ण बस्नेत नगरप्रमुख बाह्रबीसे नगरपालिका, सिन्धुपाल्चोक

भूगोलको हिसाबले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका निक्कै पीडित रहेको छ । विभिन्न प्रकारका प्राकृतिका प्रकोपबाट यो पालिका बारम्बार प्रताडित पालिका हो। सो कारणले गर्दा पनि पालिकाका कतिपय बस्तीलाई स्थानान्तरण गर्नुपर्ने अवस्था छ। बाह्रबीसेको नगर प्रमुख हुनुहुन्छ–बालकृष्ण बस्नेत । प्रस्तुत छ, उहाँसँग समसामयिक विषयमा जिल्ला संवाददाता प्रमिला विकले गरेकी कुराकानीको सम्पादित अंश :

विकास निर्माण र सेवा–प्रवाहलाई कसरी अगाडि बढाइरहनुभएको छ ?

बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको नगर अस्पतालको रूपमा सञ्चालन गरिरहेका छौं । कक्षा ८ सम्म दिवाखाजा र कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरेका छौं। भौगोलको हिसाबले पीडित हामीलाई प्राकृतिका प्रकोपले पनि बारम्बार प्रताडित गरिरह्यो। सो कारणले गर्दा पनि पालिकाका कतिपय बस्तीलाई स्थानान्तरण गर्नुपर्ने छ । संघीय सरकारबाट ८५ प्रतिशत र यस नगरपालिकाबाट १५ प्रतिशत पैसा हालेर १४ घरलाई स्थान्तरण गरेर लालपुर्जा समेत वितरण गरिसकेका छौं । अझै ४ सय घर व्यवस्थापन गर्न बाँकी छ ।

बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न के–कस्ता योजना बनाउनुभएको छ ?

एमाले, माओवादी लगायतका पार्टीका जनप्रतिनिधिहरु यति बेला मिसन ८४ मा लागिरहेका छन् । तर, मैले बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयन गर्नका लागि २०८४ मा फेरि निर्वाचन जितिन्छ कि जितिँदैन भन्ने कुरालाई छोडेर आफ्नो कार्यकालमा सम्पूर्ण काम कर्तव्यलाई थाँती नराखी सक्ने योजनाहरु ल्याएको छु । यति बेला सिंहदरबारको अधिकार गाउँ र जनतामा आएको छ । यो महशुस जनतामा गराउन मैले बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयनको योजना निर्माण गरिरहेको छु । जसमा कृषि, पर्यटन, शिक्षा र व्यापारलाई प्राथमिकता दिएको छु । अझ कृषिलाई बढी महत्व प्रदान गर्दै गोरु पाल्ने किसानलाई १० हजार रुपियाँ प्रोत्साहन स्वरुप दिएको छु । त्यस्तै, गोरुको बीमा कार्यक्रमलाई अगाडि बढाइएको छ । गोरु जोत्ने हलीको समेत २ लाख रुपियाँको बीमा कार्यक्रमलाई अगाडि बढाएको छु ।

बाह्रबीसेलाई नमुनायोग्य बनाउन विशेष कुनै कार्यक्रम ल्याउनुभएको छ ?
अन्य पालिकामा पालिका अस्पताल बन्न सकेका छैनन् । हाम्रो पालिकामा अस्पताल बनेको छ । जिल्लामा कुनै पालिकामा निःशुल्क शिक्षा अवधारण छ भने त्यो बाह्रबीसेमा मात्र छ । हाम्रो पालिकामा कृषि, पर्यटन, धार्मिक, सांस्कृतिक लगायतका आफ्ना मौलिकता बचाउन गरेका कार्यहरु नमुनायोग्य भएको जनताले महशुुस गरेका छन् ।

पालिकामा विकास निर्माण, सेवा–प्रवाह र सुशासन स्थापित गराउन कत्तिको संवेदनशील हुनुभएको छ ?

विकास निर्माण, सेवा–प्रवाह र सुशासन एक–अर्काको परिपूरक हुन् । योबिना पालिकाको विकास निर्माण असम्भव छ । यस विषयमा निकै संवेदनशील छु । हामीले यो विषयलाई रातो किताबमा नै उल्लेख गरेका छौं ।

जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध कस्तो हुनुपर्छ जस्तो लाग्छ ?

जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नङ र मासुको जस्तो हुन जरुरी छ । जनप्रतिनिधि जनताको विकासका लागि अहोरात्र खटिरहेका हुन्छन् भने कर्मचारी सो विकास निर्माणका लागि काम गरिरहेका छन् । सो कारणले गर्दा जनप्रतिनिध र कर्मचारी एक–अर्काको परिपूरक हुन् ।

विकास निर्माणमा जनसहभागिता कतिको पाउनुभएको छ ?

जनसहभागिता नभएसम्म विकास निर्माणको कुनै पनि काम सम्पन्न हुन सक्दैन । हाम्रो पालिकाको कुरा गर्दा विकास निर्माणको काम जनताको सहभागिता उल्लेख्यरूपमा रहेको छ ।

जनसहभागिता जुटाउन के–कस्ता योजना र कार्यक्रम ल्याउनुभएको छ ?

हामीले क्वालिटी र क्वान्टिटीको कामलाई प्राथमिकता दिएर जनतालाई स्वयं निरीक्षण, अनुगमन गराउने गरेका छौं ।

विकास बजेटको विनियोजन गर्दा आवश्यकताभन्दा पनि पहुँचको भरमा गरिन्छ भन्ने आरोप छ । खास कुरा के हो ?

तपाईंले निक्कै सान्दर्भिक प्रश्न गर्नुभयो । जनता भनेको भगवान् र न्यायालय हुन् । न्यायालयभन्दा माथि कोही हुन सक्दैन । सो कारणले हामीले सधैं जनताको हितमा रहेर पार्टी र कार्यकर्तालाई भन्दा जनताको आवश्यकतालाई पहिचान गरी विकास निर्माणका काम अगाडि बढाइराखेका छौं । यदि कसैबाट बाह्रबीसेले पार्टीगत रूपमा विकास निर्माण अगाडि बढायो भन्छन् भने सो सरासर गलत हो ।

बाह्रबीसेमा बेरुजु र सार्वजनिक खरिदको अवस्था के–कस्तो छ ?

नगरपालिकाभित्र सैद्धान्तिक बेरुजु पनि रहेको छ । जे होस् पहिलाको भन्दा अहिले बेरुजु निक्कै कम रहेको छ । यो विषयमा हामीले प्रशासन प्रमुख, अन्य शाखा प्रमुखसँग कसरी यसलाई शून्यमा झार्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौं ।

पालिकामा जनशक्ति, साधन स्रोत तथा प्रविधिको पहुँचचाहिँ कस्तो छ ?

स्रोत साधन, जनशक्ति र प्रविधिको कुरा गर्दा बाह्रबीसे अब्बल रहेको छ । बर्खाको समयमा धेरै बाटो भत्किने समस्या हुन्छ । त्यसको लागि हामीसँग जेसीबी रहेको छ । दुई वटा स्काभेटर पनि आपत्कालीन अवस्थामा छन् । फोहोर फाल्ने ट्रक पनि छ । विपत्तिको समयमा राहत सामग्री वितरणका लागि फोरहिल गाडीको व्यवस्था गरेका छौं । पूर्वस्वास्थमन्त्री मोहनबहादुर बस्नेतले एम्बुलेन्स उपलब्ध गराउनुभएको छ । छिट्टै दमकलको पनि व्यवस्था गर्दै छौं । नेपाली सेनालाई विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री हस्तारण गरेका छौं । बजारमा सोलारबत्ती राख्ने काम भइरहेको छ । बजारका चोक–चोकमा सीसीटिभी राख्ने काम पनि भइरहेको छ ।

हाल पालिकाले भोग्नुपरेका मुख्य समस्या के छन् ? त्यसको समाधानका लागि के–कस्ता पहल गरिरहनुभएको छ ?

हाम्रो मुखय समस्या भनेको भवन हो । नेपाल सरकारले तोकेको भवन हामीसँग छैन । स्थानीय स्रोत निकै कम छ । नेपाल सरकारले दिएको पैसाले नगरपालिकाको भवन निर्माण गर्न नमिल्ने भएकाले भवन निर्माण गर्न सकिरहेका छैनौं । भूगोलको हिसाबले सरकारी जग्गा नरहेको र जग्गादाता पनि नभएकाले गर्दा नगरपालिको भवन निर्माणमा समस्या भइरहेको छ । विभिन्न स्थानमा भवन निर्माणका लागि जग्गा हरिरहेको छु । मेरै कार्यकालमा भवन निर्माण हुनेमा म विश्वस्त छु ।

विशेष योजना केही ल्याउनुभएको छ कि ?

खोलाका बगरमा विभिन्न रिसोर्ट खोल्ने र र्‍याफ्टिङको प्रबन्ध मिलाएर देशभरका पर्यटकलाई यस पालिकाभित्र भित्र्याउने गरी काम गरिहेका छौं ।

यहाँका धार्मिक, पर्यटकीय तथा सांस्कृति महत्वका क्षेत्रको अवस्था कस्तो छ ?

हाम्रो पालिकाभित्र मठ–मन्दिर प्रशस्त मात्रामा छन् । कतिपयलाई मर्मत गरेका छौं भने कतिपयलाई सरसफाइमा विशेष ध्यान दिएर आन्तरिक र बाह्य पर्यटक भित्र्याएर पालिकाको आर्थिक समृद्धि उकास्न लागिपरेका छौं । मिनी चिडियाखाना निर्माण गर्ने कामा अगाडि बढेको छ ।

महिला, दलित र पीछडिएका वर्गका लागि यस पालिकाले कस्तो काम गरिरहेको छ ?

महिला, दलित, अपांग र पीछडिएका वर्गको आर्थिक स्थिति उकास्न विभिन्न प्रकार सीपमूलक तालिमहरू दिइरहेका छौं । जस्तै, धूप बनाउने, डोको–नाम्लो बनाउने, पशुपालन, सिलाइकटाइ लगायतका तालिम सञ्चालन गरिरहेका छौं। अपांग भएकाका लागि नगरपालिकाले छुट्टै दशंै खर्च पनि उपलब्ध गराउँदै आएको छ।

अन्त्यमा, विशेष केही भन्नु छ कि ?

यस नगरलाई सुन्दर, समृद्धि, सफा, सुरक्षित र विकसित बनाउने छु। कसैलाई भेदभाव नगरी निष्पक्ष ढंगले गाउँ–गाउँमा सिंहदरबारको महसुुस हुने गरेर काम गरिरहेको छु ।

प्रतिक्रिया दिनुहोस्