बलात्कार मुद्दामा पक्राउ परेका फुटबलर अल्भेस धरौटीमा रिहा



काठमाडौं ।

 ब्राजिलियन फुटबलर ड्यानी आल्भेसलाई एक मिलियन युरो धरौटीमा रिहा भएका छन् । एक महिलामाथि बलात्कार गरेको मुद्दामा जेल सजायको एक चौथाई भुक्तान गरेपछि ससर्त रिहा गर्न सकिने फैसला गरेको हो ।

 आल्भेसलाई फेब्रुअरीमा स्पेनको अदालतले बलात्कार मुद्दामा दोषी ठहर गर्दै चार वर्षको कैद तोकेको थियो । सन् २०२२ मा स्पेनको एक नाइट क्लबमा बलात्कार गरेको भन्दै एक महिलाले आल्भेसविरुद्ध मुद्दा दर्ता गराएकी थिइन् ।

यसै आरोपमा पक्राउ परेका आल्भेस २०२३ मा प्रहरीले पक्राउ गरी हिरासतमा  रहेका थिए । आल्भेसले यसअघि जमानतको अपिल गरे पनि स्पेन छोड्न सक्ने उच्च सम्भावना देखाउँदै अदालतले उनको अपिल खारेज गर्दै आएको थियो ।

अदालतले चार वर्षको सजाय तोके पनि आल्भेस र जाहेरीकर्ता दुवैले उपल्लो स्तरमा अपिल गरेका छन् । आल्भेसले आफू निर्दोष रहेको अपिल गरेका छन् । जाहेरीकर्ताले भने आल्भेसलाई नौ वर्षको कैद सजाय हुनुपर्ने मागसहित अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्