“नेपाली खेलकुद एकैदिनमा उदो गतिमा नपुगेको” : खेलकुदमन्त्री श्रेष्ठ



 काठमाडौं ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुद एकैदिनमा उदो गतिमा नपुगेको बताएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्ज (एनएसजेएफ) को आयोजनामा मंगलबार भएको अन्र्तक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले चरणवद्ध रूपमा नेपाली खेलकुद उदो गतिमा गएको धारणा राखेका हुन् । मंगलबार मञ्चले मन्त्री श्रेष्ठसँग परिचयात्मक र अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको थियो । मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी ‘देवेन्द्र’ ले नवनियुक्त खेलकुद मन्त्री श्रेष्ठलाई स्वागत गरेका थिए ।

सो अवसरमा मन्त्री श्रेष्ठले नेपालको खेलकुद विकासका लागि बजेट अपर्याप्त रहेको बताएका छन् । ‘नेपाली खेलकुदमा आउनु बजेट धेरै न्युन र अपर्याप्त छ । चाहे जस्तो खेलकुद विकास गर्न यो बजेट पर्याप्त छैन,’मन्त्री श्रेष्ठले भने । देशभित्र राष्ट्रिय एकतामा कमि आइरहेको अवस्थामा त्यसमा काम गर्न खेलकुद क्षेत्र आफ्नो रोजाइमा परेको मन्त्री श्रेष्ठले प्रष्ट्याएका छन् । उनले मन्त्रालयलाई अधिकारबाट सीमित गरिएको पनि बताएका छन् । ‘खेलकुद मन्त्रालयले जिम्मेवारी लिनुपर्ने धेरै छन् ।

तर, अधिकारको सवालमा भने मन्त्रालयलाई सीमित घेरामा राखिएको छ,’मन्त्री श्रेष्ठले भने । मन्त्री श्रेष्ठले सरोकार निकाय राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी (एनओसी) र खेल संघबीच त्रिकोणात्मक आकारमा रहेकाले नेपाली खेलकुदको विकास राम्रोसँग हुन नसकेको औंल्याएका छन् । खेलको वर्गीकरण नेपाली खेलकुदको आवश्यकता बनेको मन्त्री श्रेष्ठको विश्वास छ ।

नेपालका खेल संघहरू हराइरहेको आभास आफूलाई भइरहेको मन्त्री श्रेष्ठ बताउँछन् । संघहरूले आफूलाई नयाँ ढंगले अगाडि बढाउन सके मात्र खेलकुदको विकास सम्भव हुने बताएका छन् । आइओसीको चार्टरभित्र रहे पनि नेपाल ओलम्पिक कमिटी नेपालको कानुनभित्र पनि रहेर काम गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्