निर्देशक समाजको साधारणसभा र सम्मान, हमालद्वारा एक ढिक्का हुन आह्वान



काठमाडौं ।

नेपाल चलचित्र निर्देशक समाजले १६औं वार्षिक साधारणसभा तथा सम्मान समारोह २०८० अयोजना गर्दै कला क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ।

आइतबार ख्यातिप्राप्त अभिनेता राजेश हमालको प्रमुख आतिथ्यमा राजधानीको चाबहिलस्थित नेपाल चलचित्र विकास बोर्डमा आयोजित समारोहमा फिल्म निर्देशक, गीतकार तथा लेखक यादव खरेललाई दीर्घ साधना सम्मानबाट सम्मान गरिएको छ।

कार्यक्रममा पहिलो रंगिन नेपाली फिल्म कुमारीका निर्देशक प्रेमबहादुर बस्न्यातलाई हिरासिंह खत्री स्मृति सम्मान २०८० बाट सम्मान गरिएको छ। नेपाल चलचित्र निर्देशक समाज स्रष्टा सर्जक सम्मान २०८० बाट निर्देशक आकाश अधिकारी, निर्देशक दिनेश डिसी र सम्झना उप्रेती रौनियारलाई सम्मान गरियो।

त्यस्तै, निर्देशक रामबाबु गुरुङलाई चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार २०७९ मा सर्वाधिक २२ करोड रुपियाँ संकलन गरेको फिल्म कबड्डी कबड्डी ४ का लागि वर्ष निर्देशक तथा निर्देशक सुजित बिडारीलाई फिल्म ऐना झ्यालको पुतलीका लागि क्रिटिक्स अवार्ड प्रदान गरियो।

निर्देशक खरेल स्वास्थ्य अवस्थाका कारण कार्यक्रममा सहभागी हुन नसकेकाले नगदसहितको उनको सम्मान प्रतिनिधि नरोत्तम घिमिरेले ग्रहण गरेका थिए।

सम्मानित व्यक्तित्वहरूलाई प्रमुख अतिथि राजेश हमाल, समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, दयाराम दाहाल, फिल्म लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मालगायतले सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरेका थिए। कार्यक्रममा निर्देशक समाज र यादव खरेलका बारेमा तयार पारिएको श्रव्यदृश्य सामग्रीसमेत प्रस्तुत गरिएको थियो।

कार्यक्रमका सभापति तथा निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले आफूहरूले हल्ला नगरी काम गरिरहेको बताए। समाजकी कोषाध्यक्ष समुन्द्र भट्टले स्वागत मन्तव्य राखेको कार्यक्रममा बोल्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले फिल्मकर्मीले एक अर्काको अस्तित्व स्वीकार गर्न नसक्नु नै फिल्म क्षेत्रको प्रमुख समस्या रहेको बताए।

‘फिल्मकर्मीले फिल्म प्रर्दशनको क्रममा विभिन्न समस्या झेल्दै आएका छन् । अस्ति नवल खड्का भाइको काँडेतार, कहिले रंगेली, कहिले उपहार आदि फिल्मले प्रदर्शनको मुखमा समस्या झेले। त्यो बेला रेखा थापा बहिनीले चलचित्रसम्बन्धी संघ संस्थाले केही बोलेनन् पनि भन्नुभयो। तर, हामी मजदुर भएकाले यस्ता समस्याबारे पहल गर्दै आएका छौं,’ निरौलाले भने।

निरौलले फिल्म क्षेत्रमा चलेका कलाकार फिल्म क्षेत्रका समस्याबारे छलफलका कार्यक्रममा निमन्त्रणा गर्दा सहभागी नहुने र आफूलाई समस्या पर्दा फिल्मसम्बन्धी संघसंस्थाले काम नगरेको आरोप लगाउने गरेको बताए।

‘फिल्मसम्बन्धी विधेयक निर्मँण गर्ने समयमा कुनै पनि चलेका कलाकार र निर्देशकले वास्ता गर्नु भएन, तर हामी निरन्तर चलचित्र क्षेत्रको समस्या समाधान र विकासमा लागि परेका छौं,’ निरौलाले भने।

त्यस्तै, समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार दयाराम दाहालले अहिले पनि २०२६ सालमा बनेको ऐनमा रहेर काम गर्नुपरेको र फिल्म विधेयक पास नहुँदा फिल्म क्षेत्र समस्याग्रस्त रहेको बताए।

नयाँ विधेयक पास गर्न आफूहरूले पटकपटक प्रसाय गरेपछि सरकारले विधेयक तर्जुमा गर्न स्विकृति प्रदान गरे पनि सो कार्यका लागि फिल्म क्षेत्रका परिचित अनुहारले सकरात्मक भूमिका खेल्नुपर्ने बताए।

उनले अभिनेता तथा प्रमुख अतिथि राजेश हमाललाई सम्बोधन गर्दै भने,‘फिल्म क्षेत्रको पर्दा पछाडिको अपरिचित अनुहारलाई राज्यले चिनेन। सो विधेयक पास गर्न राजेशजीले भूमिका खेलिदिनूस् न।’ दाहालले चलेका कलाकर्मीलाई फिल्म हिट हुँदा संघसंस्था नचाहिए पनि समस्या पर्दा संघसंस्था चाहिने गरेको बताए।

समारोहमा बोल्दै हमालले फिल्म क्षेत्रमा भएका विभिन्न समस्याको समाधानका लागि सहकार्य गर्न आफू सधैं तयार रहेको जनाउँदै सबैभन्दा पहिला फिल्म क्षेत्रका व्यक्ति नै एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताए।

‘फिल्ममा मात्र होइन सबै क्षेत्रमा आआफ्ना चुनौती हुन्छन्, तर चुनौती छ भन्दैमा आआफ्नो उद्देश्यअनुसार कोण कोणमा विभाजित हुनुभन्दा पनि सबै फिल्मकर्मी एक ढिक्का भएर अगाडि बढ्नुपर्छ,’ हमालले भने।

उनले विभिन्न चुनौतीका बाबजुद पनि नेपालमा निरन्तर फिल्म बनिरहनुलाई सकरात्मक रूपमा हेर्नुपर्ने भन्दै निर्देशक समाजले विभिन्न निर्देशकलाई गरेको सम्मानको प्रसंशा गरे।

कलाकर्मी तथा फिल्म क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिलगायततको सहभागिता रहेको समारोह स्रष्टा सम्मान र साधारणसभा गरी दुई चरणमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्