महाजात्रा नै मेरा कारणले हुन्छ : हरिवंश आचार्य



मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म जात्रामार्फत निर्देशनमा आए प्रदीप भट्टराई उनी पहिलो फिल्मबाटै दर्शक र समीक्षकको विश्वास जित्न सफल भए। उनको पहिलो फिल्मले ५१औँ दिन प्रदर्शनको रेकर्ड कायम गर्न सफल भयो। त्यसपछिका शत्रुगते, जात्रैजात्रा र महापुरुषले पनि सफलता हासिल गरे। त्यस्तै, नेपालमा बन्ने गरेको सिक्वेलमा जात्रैजात्राजत्तिको प्रसंशा कमै फिल्मले पाए।

आफ्ना पथप्रदर्शक हरिवंश आचार्यलाई पहिलो फिल्म जात्रामा गायकका रूपमा पेस गरेका प्रदीपले शत्रुगते र महापुरुषमा अभिनेता आचार्यलाई प्रमुख भूमिकामा प्रस्तुत गरे। यसपटक महाजात्रामा उनले अभिनेता आचार्यलाई राजनीतिज्ञको भूमिकामा प्रस्तुत गर्दैछन्। यसै सन्दर्भमा अभिनेता आचार्यसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

तपाईंलाई राजनीतिज्ञको नकारात्मक भूमिका निर्वाह गर्न केले आकर्षित गर्‍यो?

म जहिले पनि आफूले निर्वाह गरेको भूमिकामा भन्दा फरक गरौं भन्ने सोच राखेर काम गर्छु। सोही कारण पनि नयाँ र फरक भूमिका मेरो प्राथमिकतामा पर्छ। नकारात्मक भूमिकाले पर्दामार्फत सकारात्मक संदेश पनि प्रवाह गर्छ। यस्तो कार्य वा गतिविधि गर्न हुँदैन भन्ने यसले मनोरञ्जनात्मक शैलीमा ज्ञानसमेत दिन्छ। यही कारण पनि म यस भूमिकालाई निर्वाह गर्न सहमत भएको हुँ।

प्रदीप भट्टराईले निर्देशन गरेकै कारण विश्वास बढेको हो?

एउटा कारण प्रदीप पनि हुन्। उनले हामीसँग मह सञ्चारमा लामो समय मुख्य सहायक निर्देशक र निर्देशक भएर काम गरे। उनीसँग दुई फिल्ममा पनि काम गरिसकेकाले म उनको कामप्रति ढुक्क छु। किनकि उनले कस्तो काम गर्छन् भन्ने मलाई दुई दर्शकदेखि थाहा छ। मैले फिल्म गर्छु भन्दा पूर्णरूपमा स्क्रिप्ट पनि पढेको थिइन। किनकि उसका कथाले समाजलाई मनोरञ्जनसँगै संदेश दिइरहेका हुन्छ। ममात्रै होइन, प्रदीपले फिल्म प्रस्ताव गर्दा नाइ भन्ने सायदै कम होलान्।

महापुरुषपछि दर्शकको अपेक्षा तपाईंप्रति अझै बढेको छ, त्यसलाई यसले पूरा गर्छ ?

अवश्य गर्छ। किनकि फिल्मको सम्पूर्ण कुरा जोडिएको पात्र म नै हुँ। मेरो नकारात्मक भूमिका दर्शकलाई नयाँ पनि हुनेछ। फिल्ममा महाजात्रा नै मेरा कारणले हुन्छ। मलाई प्रस्ताव गर्दा नै महाजात्रा गराउन तपाईं चाहिन्छ भन्नुभएको थियो। भूमिका त्यहीअनुरुप छ।

महाजात्रा खासमा के हो ?

यो जात्राकै शृंखला हो। यो रमाइलो छ। यसमा बेरोजगार युवाको समस्या, रोजीरोटीका लागि गरिने संघर्ष, देशमा केही गरौं भन्ने युवाको दैनिकी, राजनीतिज्ञले युवालाई दिलाउन नसकेको विश्वासलगायत पक्ष छन्। यी विषय सिरियस छन्, जसलाई मनोरञ्जनात्मक प्रस्तुतिमार्फत पर्दामा ल्याइएको छ। बेरोजगार युवाले सर्टकट खोज्दा भोग्ने परिस्थिति पनि छ। यो गम्भीर विषयको रमाइलो प्रस्तुति हो।

कुनै पनि भूमिकामा प्रस्ताव आउँदा केमा बढी ध्यान दिनुहुन्छ?

मैले फिल्मको विषयवस्तु हेर्छु। त्यसपछि मेरो भूमिकाको कथामा आवश्यकतालाई हेर्छु। अनि फिल्म निर्माण गर्ने टिमले पछिल्ला काम कस्तो गरेको छ र मलाई कुन किसिमको प्रस्तुतिमार्फत प्रस्तुत गर्दैछ, ती सबै हेरेर मैले फिल्म गर्ने वा नगर्ने निर्णय लिन्छु। दुई दशकभन्दा बढी काम गरेकाले यो प्रदीप भट्टराईमा लागू हुँदैन। म उनका हरेक पाटोमा विश्वस्त हुन्छु।

फिल्ममा अभिनय गरिरहनुभएको छ, निर्माणको योजना के छ?

अहिले फिल्म निर्माणभन्दा पनि अभिनयमै केन्द्रित छु। म राम्रो निर्माण समूहसँग काम गर्ने योजनाअनुसार अभिनयमै केन्द्रित छु। त्यसैले अहिले निर्माणमा केही समय लाग्छ। अहिले मलाई अभिनेताकै रूपमा पाउनुहुनेछ।

प्रतिक्रिया दिनुहोस्