काठमाडौँ।
खानेकुरा तथा पेय पदार्थमा नसालु पदार्थ मिसाएर सर्वसाधारणलाई बेहोस बनाई सुनका गरगहना, नगद र मोबाइल लुटपाट गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
काभ्रेपलाञ्चोकको बनेपा तथा आसपासका क्षेत्रमा भएका श्रृंखलाबद्ध लुटपाटका घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जना लुटपाटमा संलग्न रहेको आरोप लागेका व्यक्ति र चोरीका गरगहना खरिद गरेको आरोपमा दुई सुन व्यवसायीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ घर भई हाल बनेपा नगरपालिका–५ बस्ने ५० वर्षीया संगीता तामाङ (कार्की) र धुलिखेल नगरपालिका–१ का ३८ वर्षीय विरध्वज तामाङ रहेका छन्।
त्यस्तै, दोलखाको बिगु गाउँपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ बस्ने ४६ वर्षीय नवराज घिमिरे विक र नमोबुद्ध नगरपालिका–१ घर भई हाल बनेपा नगरपालिका–७ बस्ने ३२ वर्षीय प्रविन सुनुवार पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार संगीता तामाङलाई कात्तिक १५ गते बनेपाको चारदोबाटोबाट पक्राउ गरिएको हो। विरध्वज तामाङ यसअघि बौद्ध प्रहरी वृत्तमा दर्ता भएको चोरी मुद्दामा पक्राउ परी धरौटीमा छुटेपछि मंसिर ३ गते इलाका प्रहरी कार्यालय बनेपामा दाखिला भएका थिए। नवराज घिमिरे विक र प्रविन सुनुवारलाई मंसिर ६ गते क्रमशः भक्तपुर र काभ्रेको खड्पुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनालाई अनुसन्धानपश्चात् अभियोजनका लागि जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकमा पेस गरिएको प्रहरीले जनाएको छ।
यसरी गर्थे लुटपाट
प्रहरी अनुसन्धानअनुसार संगीता तामाङ र विरध्वज तामाङले सर्वसाधारणलाई विभिन्न बहानामा विश्वासमा लिई खानेकुरा तथा पेय पदार्थमा नसालु पदार्थ मिसाएर खुवाउने गरेको खुलेको छ।
फ्रुटी, दूध तथा लेमन जुसमा नसालु पदार्थ मिसाएर सेवन गराएपछि पीडित बेहोस हुने र त्यसपछि उनीहरूले लगाएका गरगहना तथा साथमा रहेका नगद र मोबाइललगायतका सामान लुटेर भाग्ने गरेको प्रहरीको भनाइ छ।
यसरी लुटिएका सुनका गरगहना विभिन्न सुनचाँदी पसलमा बिक्री गर्ने तथा खरिद गरेपछि तिनको स्वरूप परिवर्तन गरी राख्ने गरेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
चार घटनामा एउटै प्रकृतिको अपराध
प्रहरीका अनुसार गत भदौ र असोज महिनामा काभ्रेका विभिन्न स्थानमा चारवटा यस्तै प्रकृतिका घटना भएका थिए।
पहिलो घटनामा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भएका ५४ वर्षीय गंगाबहादुर गुरुङलाई गत असोज २४ गते बनेपा नगरपालिका–६ मा फ्रुटीमा नसालु पदार्थ मिसाएर खुवाइएको थियो। बेहोस भएका गुरुङको साथबाट चार हजार रुपैयाँ नगद र चारवटा राडी लुटिएको प्रहरीले जनाएको छ।
घटनापछि बेहोस भएका गुरुङलाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। उनको चार दिनसम्म उपचार भएको थियो।
दोस्रो घटनामा गत भदौ १० गते बनेपा नगरपालिका–४ बस्ने ७० वर्षीया हिरामाया जिम्बा र उनका ७४ वर्षीय श्रीमान् हस्तबहादुर जिम्बालाई आफ्नै घरमा दूधमा नसालु पदार्थ मिसाएर खुवाइएको थियो।
बेहोस भएपछि हिरामायाको कानमा लगाएको सुनको रिङ दुई थान र सुनको तिलहरी एक थान लुटेर लगिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। घटनापछि हिरामियाको शिर मेमोरियल अस्पतालमा उपचार गरिएको थियो भने थप उपचारका लागि जावलाखेलस्थित अल्का अस्पतालमा सात दिन राखिएको थियो। हस्तबहादुरको पनि शिर मेमोरियल अस्पतालमा उपचार गरिएको थियो।
तेस्रो घटनामा गत असोज २८ गते पनौती नगरपालिका–४ बस्ने ५१ वर्षीय हेमबहादुर बस्नेतलाई बनेपा नगरपालिका–३ मा लेमन जुसमा नसालु पदार्थ मिसाएर खुवाइएको थियो। बेहोस भएपछि उनको साथबाट सुनको सिक्री एक थान, मोबाइल एक थान र सुनको औँठी एक थान लुटिएको प्रहरीले जनाएको छ।
चौथो घटनामा गत भदौ २३ गते दिउँसो करिब १ बजे नमोबुद्ध नगरपालिका–११ बस्ने ६७ वर्षीया पञ्चमाया तामाङलाई घरमै खानेकुरामा नसालु पदार्थ मिसाएर खुवाइएको थियो। बेहोस भएपछि उनको कानमा लगाएको करिब एक तोलाको सुनको रिङ लुटेर लगिएको प्रहरीको भनाइ छ।
चोरीका गरगहना सुन पसलमा बिक्री
प्रहरीले पीडितसँगको समन्वय तथा प्राप्त प्रमाणको विश्लेषण गर्दा लुटपाटका घटनामा संगीता तामाङ र विरध्वज तामाङको संलग्नता रहेको खुलेको जनाएको छ।
गंगाबहादुर गुरुङ र हिरामाया जिम्बाको साथबाट लुटिएका गरगहना भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ चारदोबाटोस्थित जय शिव शक्ति सुनचाँदी ज्वेलर्सका सञ्चालक नवराज घिमिरे विकले बिना रसिद खरिद गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
त्यस्तै, पञ्चमाया तामाङको साथबाट लुटिएको गरगहना बनेपा नगरपालिका–७ बस्ने प्रविन सुनुवारले धुलिखेल नगरपालिका–५ स्थित गणेश सुनचाँदी पसलका संचालकलाई बिना रसिद खबिक्री गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
सुनको स्वरूप परिवर्तन गरेर राखेको अवस्थामा बरामद
प्रहरीले संगीता तामाङको साथ तथा कोठाबाट तीन ग्राम सेतो धुलो पदार्थ, घटनामा प्रयोग भएको आशंका गरिएको कालो रङको मोबाइल, भिभो कम्पनीको मोबाइल तथा विभिन्न कपडा र जुत्तासहितका सामग्री बरामद गरेको छ।
त्यस्तै, नवराज घिमिरे विकको सुन पसलबाट स्वरूप परिवर्तन गरी ढिक्का बनाइएको अवस्थामा ९२.२ लाल, ४२.७ लाल, २६.५ लाल र ११.१ लाल तौलका सुनजस्तो देखिने धातु बरामद गरिएको प्रहरीले जनाएको छ।
गणेश सुनचाँदी पसलबाट ११.६८ ग्राम तौलको सुनजस्तो देखिने धातुको एक जोर रिङसमेत बरामद भएको छ।
यसअघि पनि चोरी तथा अन्य मुद्दामा अनुसन्धान
प्रहरीका अनुसार संगीता तामाङ र विरध्वज तामाङ काठमाडौं महानगरपालिका–६ तिनचुलीमा गत भदौ ३१ गते भएको यस्तै प्रकृतिको चोरी घटनामा समेत संलग्न रहेको अनुसन्धानबाट खुलेको छ। उक्त घटनामा कान्छी तामाङलाई नसालु पदार्थ सेवन गराई बेहोस बनाएर सुन तथा नगद चोरी गरिएको प्रहरीको भनाइ छ।
संगीताविरुद्ध यसअघि पनि चोरी तथा डाँकासम्बन्धी मुद्दा चलेको प्रहरी अभिलेखमा उल्लेख छ। उनीविरुद्ध २०८० असोज ४ र २०८२ कात्तिक ३० गते इलाका प्रहरी कार्यालय बनेपाबाट मुद्दा चलेको तथा दुई महिना कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला भएको विवरण प्रहरीले सार्वजनिक गरेको छ। त्यस्तै, २०८३ साउन ७ गते चोरीसम्बन्धी मुद्दामा पक्राउ परी काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेको विवरणसमेत प्रहरीले उल्लेख गरेको छ।
विरध्वज तामाङविरुद्ध २०८२ मंसिर २३ गते अभद्र व्यवहारसम्बन्धी मुद्दा चलेको र चार हजार आठ सय रुपैयाँ जरिवाना भएको प्रहरी अभिलेखमा उल्लेख छ। त्यस्तै, २०८३ कात्तिक ५ गते बौद्ध प्रहरी वृत्तमा दर्ता भएको चोरी मुद्दामा पक्राउ परी काठमाडौं जिल्ला अदालतबाट ३५ हजार रुपैयाँ धरौटीमा छुटेको प्रहरीले जनाएको छ।
नवराज घिमिरे विकविरुद्ध पनि चोरीका सुनका गरगहना बिलबिना खरिद गरी स्वरूप परिवर्तन गरेको आरोपमा यसअघि बनेपा प्रहरीले अनुसन्धान गरेको थियो। उनीविरुद्ध दर्ता भएका दुईवटा मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट जनही ६० हजार रुपैयाँका दरले कुल एक लाख २० हजार रुपैयाँ धरौटीमा छुटेको र ती मुद्दा हालसम्म विचाराधीन रहेको प्रहरीले जनाएको छ।
प्रविन सुनुवारको हकमा भने चोरीका गरगहना खरिद गरेको आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
अन्य पीडितलाई प्रहरीमा सम्पर्क गर्न आग्रह
पक्राउ परेका व्यक्तिहरू अन्य स्थानमा समेत यस्तै प्रकृतिका अपराधमा संलग्न हुन सक्ने आशंका गर्दै प्रहरीले थप पीडित भए जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा सम्पर्क गर्न आग्रह गरेको छ।








तपाईंको विचार लेख्नुहोस्