काठमाडौं ।
जोन्टा क्लब काठमाडौंले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान–२०२६ सुरु गरेको छ। बुधबार काठमाडौंको ऐतिहासिक बसन्तपुरमा सार्वजनिक कला स्थापनाको अनावरण गर्दै अभियानको औपचारिक सुरुवात गरिएको हो।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जोन्टा क्लबका सदस्य, कलाकार, युवा नेतृत्व तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
तीन युवा नेपाली महिला कलाकार अमिषा महर्जन, निर्विता शाक्य र अमिषा केसीले वरिष्ठ कलाकार कपिलमणि दीक्षितको मार्गदर्शनमा तयार पारेको कला स्थापनाले महिला तथा किशोरीहरूले समाजमा खुलेर व्यक्त गर्न नसकेका भावनात्मक र सामाजिक पीडालाई उजागर गरेको छ।
‘उनका धेरै झोला छन्, सबैले देख्छन्। तर सबैभन्दा गह्रौँ झोला कसैले देख्दैन, जुन उनी एक्लै बोकेर हिँडिरहेकी हुन्छिन्’ भन्ने अवधारणामा आधारित उक्त कलाले महिलाले भोग्ने डर, दमन, दोषारोपण र चार भित्ताभित्र सीमित पीडालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ।
कला स्थापनामार्फत लैङ्गिक हिंसाविरुद्धको मौनता तोड्न, पीडितले आफ्ना अनुभव खुलेर व्यक्त गर्न र हिंसा अन्त्यका लागि सामूहिक प्रयास गर्न समाजलाई प्रेरित गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला हिंसा र लैङ्गिक विभेद अन्त्यका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्।
उनले महानगरपालिकाले जोन्टा क्लबसँगको सहकार्यमा १६ दिने अभियानमार्फत महिला हिंसासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र अभियान सकिएपछि पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको बताइन्।
महिला भएकै कारण आफूले पनि समाजमा दिदीबहिनी तथा आमाहरूले भोग्नुपरेका हिंसा, अपहेलना र विभेदका विषय बुझ्ने अवसर पाएको उल्लेख गर्दै उनले महिला हिंसा अन्त्य गर्नु सबैको साझा जिम्मेवारी भएको बताइन्।
जोन्टा क्लब काठमाडौंकी अध्यक्ष मृदुला राजभण्डारीले लैङ्गिक हिंसा अन्त्यका लागि जनचेतना अभिवृद्धिसँगै समाजका सबै तहबाट निरन्तर प्रयास आवश्यक रहेको बताइन्।
उनका अनुसार यस वर्षको ‘जोन्टा सेज नो’ अभियानमार्फत युवा, विद्यार्थी, स्थानीय तह र निजी क्षेत्रलाई जोड्दै संवादलाई व्यवहारमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ। युवा नेतृत्व र समुदायसँगको प्रत्यक्ष संवादमार्फत महिला तथा किशोरीले सम्मान र मर्यादाका साथ बाँच्न पाउने समाज निर्माणमा क्लब प्रतिबद्ध रहेको उनले बताइन्।

त्यस्तै, जोन्टा क्लब काठमाडौंको महिला हिंसाविरुद्धको समितिकी अध्यक्ष दीप्ती आचार्यले कला समाजमा लुकेर रहेका पीडा र अनुभव सार्वजनिक गर्ने सशक्त माध्यम भएको बताइन्।
उनले अमिषा महर्जन, निर्विता शाक्य र अमिषा केसीले तयार पारेको कलाले लैङ्गिक हिंसाका कारण महिलाले भोग्नुपरेका अदृश्य पीडालाई सार्वजनिक संवादमा ल्याएको उल्लेख गरिन्। लैङ्गिक हिंसा कुनै एक महिलाले मात्रै सहनुपर्ने बोझ नभएको भन्दै युवा सिर्जनाकर्मी, स्थानीय सरकार र नागरिकको सामूहिक प्रयासबाट मौनता तोड्दै जवाफदेहिताको संस्कार विकास गर्न सकिने उनको भनाइ थियो।
बसन्तपुरमा स्थापना गरिएको सार्वजनिक कला अभियान अवधिभर सर्वसाधारणका लागि खुला रहनेछ। नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अभियान विश्वव्यापी ‘जोन्टा सेज नो’ पहलअन्तर्गत आयोजना गरिएको हो।
कला स्थापनाको अनावरणसँगै क्लबले अभियान अवधिभर विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। कार्यक्रमअन्तर्गत युवाहरूको फ्ल्यास मोब, महिनावारी स्वास्थ्य तथा बालविवाहसम्बन्धी सामुदायिक संवाद र निजी क्षेत्रका श्रमिकलाई लक्षित कार्यशाला आयोजना गरिनेछ।
त्यसैगरी काठमाडौं र दाङमा सामुदायिक दौडसमेत सञ्चालन गरिनेछ। अभियानअन्तर्गतका सबै गतिविधि डिसेम्बर १० मा आयोजना हुने समापन सम्मेलनसँगै सम्पन्न हुनेछन्।
जोन्टा क्लब काठमाडौं महिला तथा किशोरीको अवस्था सुधार र अधिकार प्रवर्द्धनका लागि काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था जोन्टा इन्टरनेसनलको सदस्य क्लब हो।
क्लबले लैङ्गिक हिंसा न्यूनीकरण, लैङ्गिक समानताको प्रवर्द्धन तथा महिला र किशोरीको सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। ‘जोन्टा सेज नो’ लगायतका अभियानमार्फत जनचेतना अभिवृद्धि, हिंसापीडितलाई सहयोग तथा नीतिगत सुधारका लागि पैरवी गर्दै आएको क्लबले जनाएको छ।








तपाईंको विचार लेख्नुहोस्