काठमाडौं ।
नबिल बैंक भिसा इन्टरनेशनलले प्रदान गर्ने दुई महत्वपूर्ण विधाका अवार्डबाट सम्मानित भएको छ। बैंकले ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस–इसुइङ’ (Excellence in Contactless – Issuing) र ‘एक्सिलेन्स इन ई–कमर्स एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट’ (Excellence in E-Commerce Acquiring Business Principal Client) विधामा अवार्ड प्राप्त गरेको हो।
काठमाडौंस्थित मेरियट होटलमा सोमबार आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकका प्रतिनिधिहरूले उक्त अवार्ड ग्रहण गरेका थिए। नबिल बैंकले यसअघि पनि यी विधामा अवार्ड प्राप्त गर्दै आएको जनाएको छ।
अवार्ड प्राप्तिपछि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले यसले बैंकलाई डिजिटल बैंकिङ सेवामा थप नवीनता र नवप्रवर्तनका लागि प्रेरणा मिलेको बताए।
ग्राहकको सुविधा र सहजतालाई प्राथमिकतामा राख्दै आधुनिक बैंकिङ सेवा विस्तार गर्न अवार्डले थप ऊर्जा प्रदान गरेको उनको भनाइ छ।
“हामीलाई यस अवार्डले विश्वसनीय र डिजिटल रूपमा सशक्त नेपालको निर्माणप्रति प्रतिबद्ध रहन थप प्रेरणा प्रदान गरेको छ,” ज्ञवालीले भने।
भिसा इन्टरनेशनल विश्वव्यापी भुक्तानी प्रविधि तथा कार्ड सेवा प्रदायक कम्पनी हो। कम्पनीले नेपालमा प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘भिसा लिडरसिप कन्क्लेभ’ मार्फत डिजिटल भुक्तानी प्रणालीको विकास, विस्तार तथा नवप्रवर्तनमा योगदान पुर्याउने बैंक तथा वित्तीय संस्थालाई सम्मान गर्दै आएको छ।
नेपालको बैंकिङ क्षेत्रमा चार दशकभन्दा लामो अनुभव बोकेको नबिल बैंकले नवीन सेवा तथा प्रविधिको प्रयोगमार्फत बैंकिङ सेवालाई सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको छ।
‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणालाई अघि बढाउँदै बैंकले ग्राहक, समुदाय र समग्र अर्थतन्त्रका लागि समावेशी तथा समृद्ध भविष्य निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ।
बैंकका अनुसार हाल देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।








तपाईंको विचार लेख्नुहोस्