जर्सीका कारण एपिएफ कारबाहीमा



काठमाडौं ।

झापा गोल्डकप आयोजकले विभागीय टोली नेपाल एपिएफ क्लबलाई जर्सीका कारण कारवाही गर्ने निर्णय गरेको छ ।

सोमबार सर्लाहीको बागमती युवा क्लबविरुद्धको खेलमा टेपले लेखेको जर्सी नम्बर उक्किएपछि एपिएफले मार्करबाट लिखित नम्बर भएको जर्सी लगाएका खेलाडीलाई मैदानमा प्रवेश गराएका थिए ।

उक्त कार्यले प्रतियोगिताको गरिमामा आँच पुगेको भन्दै आयोजकले कारवाही गर्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा प्रतियोगिता नियमावली दफा १० को प्रावधानविरुद्ध कार्य गरेकाले दफा २३ (ख) अनुसार एपिएफलाई कारबाही गरिएको बताएको छ ।

आयोजकले एपिएफलाई ११ हजार रुपैयाँ जरिवाना लगाउनुका साथै आगामी खेलमा त्यस्तो गल्ती नदोहोर्‍याउन लिखित प्रतिबद्धता समेत माग्ने निर्णय गरेको छ । सोमबारको खेलमा बागमतीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै एपिएफ सेमिफाइनल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्