८० वर्षअघिको भक्तपुर तस्वीरमा



काठमाडौं ।

८० वर्षअघि भक्तपुरका सम्पदा र स्थान कस्ता देखिन्थे ? त्यहाँको जनजीवन कस्तो थियो र आज कति फेरबदल भएको छ?
सर्वसाधारण नागरिकका यस्तै प्रश्नको जिज्ञासा भक्तपुरको दरबार क्षेत्रमा शुक्रबार र शनिबार चलेको फोटो प्रदर्शनीले मेटाइदिएको छ।

भक्तपुरका पहिलो फोटोग्राफर स्वर्गीय बद्रीप्रसाद बनेपाली, उहाँका छोरा केदार बनेपाली, नातिनी सुनी बनेपाली र नाति किसन बनेपालीले खिचेका भक्तपुरका ८० वर्षयताका तस्वीर प्रदर्शनीमा राखिएको थियो।

स्व. बनेपालीले करिब ८० वर्षअघि खिचेका फोटोसँगै उनका छोरा केदारले ५०, नातिनी सुनीले ३० र नाति किशनले २० वर्षअघि खिचेका फोटो प्रदर्शनीमा राखिएको थियो। प्रदर्शनी भक्तपुर पर्यटन विकास समितिले आयोजना गरेको हो।

ब्रिलियन्ट भक्तपुर नामकरण गरिएको फोटो प्रदर्शनमा फरकफरक समयमा एउटै कोणबाट खिचेका भक्तपुरका सम्पदाको फोटोसँगै काठमाडौं, ललितपुर र काभ्रेका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा, त्यहाँको रहनसहन, जात्रा पर्व तथा रीतिरिवाज, संस्कृति झल्कने ६८ फोटो राखिएको थियो।

प्रदर्शनीको शुभारम्भ गर्दै नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले प्रदर्शनीमा रहेका तस्वीर फोटोग्राफीका दृष्टिले मात्र नभई इतिहास चेत, सामाजिक विकासले पनि अत्यधिक महत्वपूर्ण रहेको चर्चा गरे। प्रदर्शनीले मानिसमा इतिहास, संस्कृति, सामाजिक पक्षको सन्दर्भमा फोटोग्राफीको महत्वबारे बुझाउने विश्वास उनले व्यक्त गरे।

प्रदर्शनीले भक्तपुरको सम्पदामा आएको परिवर्तन पनि छर्लङ पारेको फोटोग्राफर केदार बनेपानीले बताए। उनका अनुसार स्व. बद्रीप्रसादले १९८६ सालपछि खिचेका फोटो प्रदर्शन गरिएको हो।

जसमा राजा महेन्द्र भक्तपुरको तलेजु भ्रमणमा आएको, भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी नेपाल भ्रमणका क्रममा भक्तपुर दरबार क्षेत्र पुगेको फोटो समेत समावेश थियो।

फोटोग्राफर सुनी बनेपालीले प्रदर्शनीमा राखिएका सम्पदाका फोटोमध्ये अहिले केही अस्तित्वमै नभएकाले उक्त फोटोको मद्दतले ती सम्पदा मौलिक स्वरुपमै पुनर्निर्माण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरिन्।

फोटो प्रदर्शनी हेर्न भनेरै भक्तपुर पुगेकी कीर्तिपुर उद्योग वाणिज्य महासंघकी अध्यक्ष राज्यलक्ष्मी शाक्यले ऐतिहासिक फोटोको छुट्टै ग्यालरी नै बनाउनुपर्नेमा जोड दिइन्।

आयोजक भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दीपेशराज शर्माले भक्तपुरको सम्पदाको स्वरुप, स्थानीयको जीवनशैलीमा आएको चरणबद्ध परिवर्तन झल्काउन फोटो प्रदर्शनी गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्