‘राइट टु प्रोटिन रन’ चैतमा हुने



काठमाडौं ।

नेपाल भेटनरी संघको आयोजनामा ‘राइट टु प्रोटिन रन’ प्रतियोगिताको तेस्रो संस्करण आगामी चैतको दोस्रो साता हुने भएको छ ।

उक्त प्रतियोगिता आगामी चैत १० गते हुने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु हुने उक्त दौड विभिन्न स्थान हुँदै भक्तपुरको राधे राधे पुगेर सोही रुटबाट फर्केर दशरथ रंगशालामा पुगेर टुंगिने प्राविधिक संयोजन तथा एथलेटिक्स संघका सचिव आरके विष्टले बताए ।

प्रतियोगितामा खुल्ला हाफ म्याराथन, १० किमि पुरुष, ५ किमि महिला, कक्षा १२ सम्म विद्यार्थीका लागि ५ किमि ९छात्र० र ३ किमि (छात्रा) र ह्विलचियर गरी आठवटा विधाका दौडहरु समावेश गरिएको छ । प्रतियोगितामा शीर्ष पाँचसम्मका खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ ।

कुल १४ लाख १२ हजार ५०० पुरस्कार रहेको प्रतियोगितामा हाफ म्याराथनमा प्रथमदेखि पाँचौ हुने पुरुष र महिलाले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, ४० हजार र ३० हजार प्राप्त गर्नेछन । प्रतियोगितामा सहभागिताका लागि इ-सेवामार्फत एक सय रुपैयाँ तिरेर नाम दर्ता गर्न सकिनेछ । प्रतियोगितामा करिब ७ हजार धावकधाविकाले सहभागिता जनाउने आयोजकको अनुमान छ । गत संस्करणमा महिलातर्फ फुलमती राना र पुरुषतर्फ दिनेश अधिकारी च्याम्पियन बनेका थिए ।

प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले म्याराथन आयोजना गरिएको आयोजक समितिका सचिव सितलकाजी श्रेष्ठले जानकारी गराए । प्रोटिन म्याराथनका ब्रान्ड एम्बेसडर तथा कलाकार सरोज खनालले यो प्रतियोगितामा जोडिन पाउनु आफ्नो लागि सौभाग्य भएको बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) संरक्षक रहेको प्रतियोगितालाई नेपाल दाना संघ र पशु सेवा विभागले सहयोग गरेका छन् । नेपाल एथ्लेटिक्स संघको मान्यता तथा प्रविधिक सहयोग रहने प्रतियोगितासँग प्रिमेरा हस्पिटल, इ(सेवा आइएसएस, मेरियट होटेल, ‘फायरफिल्ड बाइ मेरियट’, केबी एग्रो पार्टनरका रूपमा जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस्