बुढानीलकण्ठ महोत्सवमा हरिवंश वक्ता



काठमाडौं ।

काठमाडौं उपत्यकामै पहिलोपटक बुढानीलकण्ठ साहित्यिक, सांस्कृतिक महोत्सव हुने भएको छ। बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा भोलि शुक्रबार र पर्सी शनिबार दुई दिवसीय बुढानीलकण्ठ साहित्यिक, सांस्कृतिक महोत्सव २०८० को आयोजना हुने नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।

हास्य कलाकारद्वय हरिवंश आचार्य, वृद्धि तामाङ, साहित्यकार झमक घिमिरेलगायत वक्ता रहने महोत्सवमा म्ह फूला? (सन्चै छ ?), देश कसरी बन्छ? विद्यार्थीहरूका कविता, चुनिख्या, सपनाको सहर, आहा बुढानीलकण्ठ, भुईंजसी, चौतारी, टिन एज टक, कठघरामा, महफिललगायत १५ सेसन रहनेछन्।

महोत्सव पहिलो दिन शुक्रबार बुनपा १३ स्थित चुनीखेलमा आयोजना हुनेछ भने दोस्रो दिन विश्वप्रसिद्ध तीर्थस्थल बुढानीलकण्ठ मन्दिर परिसरमा हुने बुढानीलकण्ठ सांस्कृतिक साहित्यिक महोत्सवका संयोजक एवं उपमेयर अनिता लामाले जानकारी गराइन्।

नगरपालिकाभित्र रहेका सांस्कृतिक बाजा, महोत्सवको प्रस्तावित ढाचाअनुरूप राष्ट्रिय कलाकार, कवि, संस्कृतिविद्, विभिन्न विद्यालयका विद्यार्थी, विभिन्न नगरपालिकाका प्रमुखबीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रंगमञ्चलगायत सम्पूर्ण विधा तथा क्षेत्रलाई समेट्दै छलफल, बहस तथा अन्तरक्रियाको कार्यक्रम महोत्सवमा हुने संयोजक लामाले बताइन्।

प्रतिक्रिया दिनुहोस्