सामन्था सात महिनापछि फेरि फर्किंदै



काठमाडौं ।

करिअरले सफलताको सिंढी चढ्दै गर्दा स्वास्थ्य समस्याका कारण कला क्षेत्रबाट टाढिएकी चर्चित दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु सात महिनाको विश्रामपछि पुनः कला क्षेत्रमा फर्किएकी छन्।

सामन्थाले कला क्षेत्रमा पुनरागमन गरेको घोषणा गर्दै सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेकी छिन्।

‘हो, अन्ततः म काममा फर्किएकी छु। धेरै दिनदेखि पूर्णरूपमा बेरोजगार थिएँ। अब म मेरो एक साथीस“ग रमाइलो गर्नेछु। एक हेल्थ पडकास्ट हुनेछ, जुन मलाई मनपर्ने काम पनि हो। अर्को हप्ता रिलिज हुने भएकाले म धेरै भावुक र उत्साहित छु,’ ३६ वर्षीया अभिनेत्रीले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै भनेकी छिन्, ‘आशा छ कि तपाईं पनि यसलाई उपयोगी ठान्नुहुनेछ। मलाई यसमा काम गर्न निकै रमाइलो लागेको छ।’

गत वर्ष अटो–इम्युन कन्डिसन (मायोसाइटिस) बाट पीडित सामन्थाले उपचारका लागि कामबाट विश्राम लिएकी थिइन्। शरीरको मांसपेशी असामान्य दुख्ने रोगको उपचारपछि उनले फिल्म पुष्पमा समावेश उ अन्तावा गीतबाट दर्शकमाझ तहल्का मचाएकी थिइन्।

सामन्थाले त्यसयता दिनप्रतिदिन सफलताको उचाइ चुम्दै आएकी छन्। सो क्रममा अभिनेता बरुण धवनका साथ सिटाडोलमा अभिनय गरेकी थिइन्, जुन अभिनेत्री प्रियंका चोपडाको हलिउड शो सिटाडोलको भारतीय संस्करण हो। सामन्थाले पछिल्लोपटक फिल्म खुशीमा अभिनय गरेकी थिइन्।

यससँगै सामन्थाले चेन्नई स्टोरीजमा समेत अभिनयका लागि सम्झौता गरेकी छन्। जुन उनको पहिलो हलिउड फिल्म हो।

टिमरी एन मुराको उपन्यास द हजेमेन्ट अफ लभमा आधारित हुने भनिएको सो फिल्म बाफ्टा अवार्ड विजयी निर्देशक फिलिप जोनले निर्देशन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्