पोखरामा खुकुरी फ्रेन्ड्स अफ फेस्टिभल हुँदै



काठमाडौं ।

पोखरालाई शब्दको शहर बनाउने ध्येयका साथ शुरु भएको नेपाल लिटरेचर फेस्टिभलमा विगत तीन संस्करणमा जस्तै यस वर्ष पनि नेपाल डिस्टिलरीले साथ दिने भएको छ।

जहाँ शब्दहरू जीवन्त हुन्छन् भन्ने मूल नाराका साथ शुरु भएको फेस्टिभलमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रेटी र राजनीतिक व्यक्तित्वको पोखरामा भेला गराई समसामयिक विषयवस्तुमा अन्तर्क्रिया र अन्तरसंवाद हुँदै आएको छ।

साथै, प्रत्येक दिनको अन्तिम सत्रमा विभिन्न कलाकारका साथ सांगीतिक प्रस्तुति प्रस्तुत गरिँदै आएको छ। यस वर्षदेखि संस्थागत रूपमै यस अभियानमा होस्टेमा हैंसे गर्दै फ्रेन्ड्स अफ फेस्टिभल समुदायको सुरुवात गर्न पाउँदा गौरवान्वित महशुस भएको नेपाल डिस्टिलरीले जनाएको छ।

फेवा किनारमा पाँच दिनसम्म चल्ने यस वर्षको खुकुरी फ्रेन्ड्स अफ फेस्टिभलमा सांगीतिक सत्रका रूपमा पहिलो दिन कुमार नगरकोटीको काव्यिक प्रस्तुति, दोस्रो दिन कुटुम्ब ब्यान्ड, तेस्रो दिन, प्रा.डा. धु्रवेशचन्द्र रेग्मी अनि उनको समूह र द ब्लु फ्रेट ब्यान्ड तथा अन्तिम दिन विपुल क्षेत्री एन्ड द ट्राभलिङ ब्यान्डको प्रस्तुति हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्