राष्ट्रसेवक कर्मचारीहरुका लागि तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न



धादिङ।

जिल्लास्थित राष्ट्रसेवक कर्मचारीहरुका लागि तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा श्रीवन नेचर क्याम्प, सिद्धलेकमा संचालन भएको दुइदिने कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा कार्यालय व्यवस्थापनमा कर्मचारीहरूलाई पर्ने मानसिक तनाव र त्यसले निम्त्याउने समस्याहरू शारीरिक थकान, भावनात्मक असन्तुलन, लगायत अन्य शरीरमा पर्ने प्रतिकुल असरको बारेमा योग,ध्यान तथा आधुनिक स्वास्थ्य विज्ञानले गरेको खोजहरूको बारेमा चर्चा गरिएको थियो ।

 

कार्यक्रममा योग, प्राणयाम र ध्यानका विविध विधिहरुको बारेमा सैदान्तिक एवं प्रयोगात्मक सेसन संचानल गरिएको थियो ।

 

कार्यक्रमका प्रमुख अथिति एवं प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैर्हेले आजको युगमा सन्तुलित जीवनका लागि जीवनशैलीको व्यवस्थापन गर्नु नै सबैभन्दा उत्तम उपाय भएको बताए ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका कार्यालयका प्रमुख डा. अमूल्य दाहालले आजको हतारिएको मनुष्य तनाव र विषादले ग्रस्त रहेको भन्दै उनले त्यसले अनेकौँ मनोविकार सृजना गरेको वर्तमान अवस्थामा प्रत्येक दिन समग्र स्वास्थ्यका लागि उचित व्यायाम, स्वास्थ्य भोजन, ध्यान, राम्रो परिवेश, इमानदारिता, आनन्द जीवनशैलीका उपायहरू एवं आयुर्वेदीय जीवनशैली अवलम्बन गर्ने कलाको बारेमा जानकारी गराए ।

कार्यक्रममा कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवं डिभिजनल बन अधिकृत बिष्णु प्रसाद आचार्यले जस्तोसुकै अवस्थामा पनि प्रत्येक दिन शान्त र उर्जावान रहनको विकल्प नरहेको भन्दै व्यस्त जीवनमा संसार र अध्यात्म जोड्ने नियमित रूपमा योग र ध्यानले स्वयममा रूपान्तरण हुने बताए ।

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्री नाथ गैर्हे, प्रहरी उपरीक्षक गौतम मिश्र, कर्मचारी मिलन केन्द्रका अध्यक्ष बिष्णु प्रसाद आचार्य, धादिङ अस्पतालका नि. प्रमुख मे. सु. डा. सुरेन्द्र भट्ट, स्वास्थ्य कार्यालय प्रमुख विभु झा लगायत करिब ४५ जना राष्ट्रसेवक कर्मचारीहरुहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैर्हेको अतिथ्यता तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका प्रमुख डा. अमूल्य दाहालको सभापतितत्वमा सम्पन्न कार्यक्रमको संचालन प्रकाश सापकोटाले गरेका थिए भने स्वागत मन्तब्य रमेश प्रसाद पनेरुले राखेका थिए।

प्रतिक्रिया दिनुहोस्