तेस्रो किसुन जी स्मृति राष्ट्रिय म्याराथन चैतमा



काठमाडौं ।

तेस्रो किसुन जी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन आगामी चैतमा आयोजना हुने भएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघको बागमती प्रदेश समितिले बुधबार राजधानीमा पत्रकार सम्मलेन गरी आगामी चैतको १७ गते तेस्रो किसुन जी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन आयोजना गर्ने जानकारी गराएको हो । नेपाली कांग्रेसका संस्थापक नेता पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुन जी) को स्मृतीमा उक्त प्रतियोगिता हुँदै आएको छ ।

यसपटक प्रतियोगितामा महिला तथा पुरुषतर्फका विजेताले समान ७५ हजार, दोस्रो हुनेले ५०, तेस्रो हुने २५ हजार रुपैयाँ प्राप्त गर्ने बागमती प्रदेश समितिका अध्यक्ष दिपक गुरुङले जानकारी गराए। यसपटकबाट छात्रछात्राहरुको लागि पनि रन फर फन ५ किमी दौड समावेश गरिएको‌ बताइएको छ । ५ किमीको‌ दुवैतर्फको विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

हाफ म्याराथन बुढानिलकण्ठ नगरपालिकाको गोल्फुटारको बास्केटबल कोर्टबाट सुरू भएर धुम्बाराही चोक, सुकेधारा चोक, धोवीखोला पुल, चावहील चोक, मित्रपार्क, जयवागेश्वरी, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमल पोखरी सि. टि. सेन्टर, कृष्ण पाउरोटी, हात्तिसार, जयनेपाल हल, दरवारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, महाराजगंज नारायण गोपाल चोक, बाँसबारी, गोल्फुटार, हात्तिगौडा, बुढानीलकण्ठ हुँदै गोल्फुटार बास्केटबल कोर्टमा पुगेर समापन हुने बताइएको छ ।

प्रतियोगिताको समापनमा खेलकुद क्षेत्रमा विशेष योगदान दिने खेलाडी, प्रशिक्षक र खेल पत्रकारलाई नगदसहित सम्मान गरिने अध्यक्ष गुरुङले जानकारी दिए। अध्यक्ष गुरुङले समितिका सचिव दामोदर भट्टराई (बद्री) लाई अखिल नेपाल फुटबल संघ (एन्फा) को सह महासचिव नियुक्त भएको‌ र सदस्य राजु बोगटी ए डिभिजन क्लबको उपाध्यक्ष सर्वसम्मत निर्वाचित भएकोमा प्रशंसा पत्र प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्