देशमा गठबन्धन नामको ग्रहण लागेको छ : केपी ओली



काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको अवस्था निक्कै कमजोर बनेको बताएका छन् ।

बुधबार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले देशको अवस्थाको चर्चा गर्नु भनेको समय बरबाद गर्नु मात्रै भएको बताए ।

गठबन्धनको कारण देश बरवादी तर्फ उन्मुख भएको ओलीका भनाई छ । ‘देश ओरालो लागेको छ’, ओलीले भने । विदेशमा गएका युवाले पठाएको रेमिट्यान्सले अहिले देश चलिरहेको ओलीले बताए । यदि त्यो बन्द हुने हो भने देश बरबाद हुने उनले प्रष्ट पारेका छन् । यस विषयमा गठबन्धनलाई बारम्बार सम्झाएको भए पनि यो सरकार त्यसमा जिम्मेवार नभएको ओलीको भनाइ छ ।

गठबन्धन सरकार देश बिनाउन नभई विकासको गति रोक्न बनेको ओलीले बताए । ‘अहिले जुन गठबन्धन सरकार छ त्यो गठबन्धन देश बनाउन र विकास गर्नका लागि बनेकै होइन, त्यो एमालेले देश बनाउँछ भनेर भत्काउन बनेको हो’, ओलीले भने ।

एमालेले विकासको काम गरी रहको बेलो त्यसलाई रोक्न गठबन्धन बनेको उनले बताए । एमालेले पुल, राजमार्ग, अस्पताल, विद्यालय लगायत अनेक पूर्वाधार निर्माणको काम गरिरहेको बेला त्यसलाई रोक्न गठबन्धन सरकार बनेको ओलीले बताए । गठबन्धन सरकार बन्ने बित्तिकै विकास सबै योजना काटिएका भन्दै ओलीले आलोचना गरेका छन् ।

सूर्यमा समेत कहिले काहीँ ग्रहण लाग्ने बताउँदै ओलीले अहिले नेपाल माथि गठबन्धन नामको ग्रहण लागेको बताए। देश बनाउने एउटा एमालेलाई छेक्न अहिले आठरदशवटा गठबन्धन मिलेर ग्रहणको काम गरिरहेका ओलीको भनाइ छ ।

ग्रहण धेरै समय लाग्न नसक्ने बताउँदै एमाले त्यो ग्रहणबाट बाहिर निस्कने र देश विकासको काममा लाग्ने ओलीले बताए । ‘नेकपा एमाले छ, यस देशमा त्यस कारण देश दुर्घटनामा जान पाउँदैन, यहाँ एमाले छ, नेपाली जनतालाई सचेत पार्ने पार्टी छ’, उनले भने ।

विश्व उपनिवेशसँग लडेका देश भक्त नागरिक रहेको नेपालको भविष्य तल माथि हनु नसक्ने ओलीले बताए । नेपाली जनताको भावना सम्बोधन गर्ने देशभक्त पार्टी नेकपा एमाले जनताको साथमा रहेको उनले प्रष्ट पारेका छन् ।

ओली विकासको काममा राजनीतिक आग्रह पूर्वाग्रह नराख्न आग्रह गरेका छन् । योग्य मान्छेलाई सामाजिक क्षेत्रका जिम्मेवारी दिन उनले सुझाव दिए । अहिले गठबन्धनले क्षमता हरेर होइन गठबन्धने हो कि होइन भनेर जिम्मेवारी दिने गरेको कारण देश उँधो गतिमा गएको उनले बताए ।

देशको रक्षा र विकासको लागि नै नेकपा एमाले बनेको उनले बताए । देशको चौतर्फी विकासको लागि एमालेले काम गर्ने उनले प्रष्ट पारे । त्यसैले २०८४ को निर्वाचनमा एमालेले सबै ठाउँमा जित्ने गरी तयारी गरिरहेको उनले बताए ।

ओलीले मुख्य रूपमा कृषिलाई आधुनिकीकरण गरेर नै समृद्ध नेपाल बनाउन सकिने बताए । यस काममा सरकार र बैङ्कहरूले सहयोग गर्नुपर्ने उनको भनाइ छ । कृषि र पशुपालन तथा त्यसको आधुनिकीकरणबाट नै आर्थिक विकास गर्न सकिने ओलीले बताए ।

धेरै देशले कृषिमा आधुनिकीकरण गरेर कृषि अर्थतन्त्र मजबुत बनाएका ओलीले उदाहरण दिए । आर्थिक क्षेत्रको नयाँ नयाँ पहिचान गर्न पनि त्यतिकै जरुरी रहेको ओलीले बताए । उत्पादनलाई विविधीकरण गरी विश्व बजारमा बिक्ने उत्पादन तयार गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्