‘मेरो कार्यकाललाई सम्झनलायक बनाउँछु’



अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री

कोशी प्रदेशमा रहेको भोजपुर जिल्लाको नौवटा गाउँपालिकामध्ये अरुण गाउँपालिका पनि एउटा हो। यस पालिकामा जम्मा ७ वटा वडा छन्। जिल्लाको सदरमुकाम भोजपुरदेखि टाढा रहेको यस गाउँपालिकामा आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता रहेको छ। सबै जातजाति, धर्म, क्षेत्रका मानिसको मिश्रित बसोबास रहेको यस गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीसँग विकास निर्माणलगायतका विषयमा आधारित रहेर नेपाल समाचारपत्रले गरेको सम्पादित कुराकानी ।

स्थानीय तहमा निर्वाचित भएको डेढ वर्षभन्दा बढी भएको भयो, तपाईंले यस अवधिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

यो समयावधिलाई मूल्याङ्कन गर्दा आवश्यकताहरुलाई सही तरिकाले वर्गीकरण गर्न सकियो र आफूले इमानदारितापूर्वक काम गर्ने इच्छाशक्ति राखियो भने सीमित स्रोत र साधनको बाबजुद पनि असीमित आवश्यकताको पूर्ति गर्न दिगो आर्थिक र सामाजिक विकास गर्न सकिने रहेछ भन्ने लागेको छ ।

सबैतिर पालिका सदस्य र कर्मचारीबीच मनमुटाव देखिन्छ, तपाईंको पालिकामा चाहिँ के–कस्तो छ ?

म व्यक्तिगत स्वार्थ र नियमविपरीत आफू पनि कार्य गर्दिनँ र थाहा भएसम्म अरुलाई गर्न पनि दिन्नँ । त्यसैले अहिलेसम्म अनमेलको कारणले समस्या झेल्नुपरेको छैन।
डेढ वर्षको अवधिमा तपाईंबाट भएका उल्लेखनीय कार्य के–के हुन् ?

यो समयावधि सुन्दा धेरैजस्तो लागे पनि काम गर्नका लागि थोरै नै हो तथापि म निर्वाचित भएपश्चात् भएका कार्यहरुमा बुँदागत रुपमा भन्नुपर्दा हाल आएर गाउँपालिका आफ्नो नवनिर्मित ट्रस्ट भवनमा सरेर प्रशासनिक कार्य शुरु गरेको छ । प्याउली बजारमा करिब १४ करोडको लागतमा बन्दै गरेको १५ शय्याको स्वास्थ्य भवनको काम ८० प्रतिशत सकिएको छ, चरम्बी र चम्पेमा पनि स्वास्थ्य भवन निर्माणाधीन अवस्थामा छ ।
पालिकामा रहेका ७ वटै वडाको सदरमुकामसम्म बाह्रैमहिना सवारीसाधन सञ्चालन गर्ने लक्ष्यअनुसार अघिल्लो वर्ष पनि कार्य भएको थियो र यो वर्ष पनि ८ करोडभन्दा बढी रकमको ठेक्का लागी सडक निर्माणको काम भरहेको छ र यो आर्थिक वर्षको अन्तिमसम्ममा सबै वडाका सदरमुकामसम्म बाह्रैमहिना सवारीसाधन सञ्चालन गर्न सकिने सडक बन्नेछन् ।
पालिकाभित्रका ७ वटै स्वास्थ्य संस्थामा इन्टरनेटको सेवा उपलब्ध गराएका छौँ । कम्युटर, फोटोकपी मेसिन, प्रिन्टरजस्ता विद्युतीय सामग्रीहरु उपलब्ध गराएका छौँ। आवश्यकीय औषधीहरु र दरबन्दीअनुसारका कर्मचारीको व्यवस्थापन गरेका छौँ । डिजिटल एक्स–रेलगायतका आधुनिक स्वास्थ्य उपकरण खरिदका लागि बजेटको विनियोजन भइकसेको छ र खरिदको प्रक्रियामा रहेको छ ।
नेपाल सरकारले लिएको एक घर एक धाराको नीतिअनुसार स्थानीय साना मुहानको प्रयोग गरी ट्याङ्की निर्माण गरी खानेपानीको विस्तार र वितरण भइरहेको छ । मुहान अभाव भएका ठाउँमा सानाठूला गरी ६÷७ ठाउँमा अरुण नदी र अन्य ठाउँबाट लिफ्टिङ प्रविधिको प्रयोग गरी खानेपानी विस्तार गर्ने कार्य भएको छ । यी योजनामा केही सम्पन्न भइसकेका छन् भने केही निर्माणाधीन अवस्थामा छन् ।
निर्वाहमुखी कृषि प्रणालीबाट व्यावसायिक कृषि प्रणालीमा प्रवेश गरेका छौँ, जसअन्तर्गत भौगोलिक बनावटअनुसार उत्पादन हुने फलफूलहरु सुन्तला, कागती, एभोकाडो, आँप, लिचीजस्ता खेतीतर्फ आकर्षित गर्न प्राविधिक सहयोग साथै बिरुवा, मलखाद तथा विषादीहरु वितरण गरेका छौँ । धान, मकै, कोदोजस्ता बालीका लागि पनि रासायनिक मल, उन्नत बिउ, विषादी र प्राविधिक जनशक्ति उपलब्ध गराएका छौँ । पशुपालन गर्ने कृषकका लागि पशु स्वास्थ्य शिविर, महामारी रोग नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन, पकेट क्षेत्र निर्धारण गरी बाख्रापालक कृषकका लागि उन्नत जातका बीउ बोका वितरण, बंगुरको खोर सुधार कार्यक्रम, गाई, भैँसीपालन किसानहरुका लागि चिस्यानकेन्द्रको स्थापना गरिसकेका छौँ भने नश्ल सुधारका लागि कृत्रिम गर्भाधान माघ महिनाबाट सुरु गर्ने गरी तयारी पूरा गरेका छौँ ।
गाउँपालिकाभित्रका ९६ प्रतिशत घरधुरीमा विद्युत् सेवा पु¥याएका छौँ । भौगोलिक विकटताको कारणले विद्युत् सेवा नपुगेका बाँकी ४ प्रतिशत घरधुरीमा पनि सेवा विस्तारका लागि तार तथा पोलको प्रबन्ध भइसकेकाले यही आर्थिक वर्षभित्रमा कार्य सम्पन्न गरी उज्यालो अरुण गाउँपालिका घोषणा गर्ने तयारीमा छौँ । त्यसै गरी, खेलकुद र सुरक्षाको क्षेत्रमा आवश्यकीय ठाउँमा खेल मैदान र २ ठाउँमा प्रहरी पोस्ट थप गरेका छौँ ।

 संघ र प्रदेशसँग कस्तो समन्वय भइरहेको छ ?
म इमानदार र कर्तव्यनिष्ठ भई आफ्नो कार्यकाललाई आफूले मात्र होइन सबैले सम्झनलायक कार्यकाल बनाउने अभियानमा लागेको छु, त्यसमा सबैले सहयोग गर्नुभएको छ र संघ र प्रदेशसँग राम्रो समन्वय भइरहेको छ ।

महिला र युवाका लागि कुनै योजना बनाउनुभएको छ ?

लघु घरेलु तथा साना उद्योगको स्थापना गर्न सकियो भने स्वरोजगारको सिर्जना हुने भएकाले त्यस्ता उद्योगहरु जस्तैः अचार उत्पादन, साबुन उत्पादन, बाँसका फर्निचर उत्पादन, खाँडी तथा कोगटी कपडा उत्पादन गर्ने कार्यलाई प्राथमिकतामा राखेका छौँ । एक हप्ता अघिमात्र खाँडी तथा कोगटी कपडा उद्योगका लागि ३० लाखको योजना सम्झौतासमेत भएको छ । त्यस्ता उद्योगको स्थापना र सञ्चालन हुँदा स्थानीयस्तरमा रोजगारीको सिर्जना हुने, जनताको जीवनस्तर उक्सने र बसाइँसराइ र वैदेशिक रोजगारीमा जानेको संख्या समेत घट्नेछ । त्यसको अलावा कुटानी पिसानीका लागि साना मिल र कृषिका लागि हाते ट्रेलरहरु समेत वितरण गरेका छौँ ।
तपाईंको पालिकामा पर्यटन विकासको अवस्था कस्तो छ ?

मेरो पालिकाभित्र पिल्सिङगढी, शिवरात्रि गुफा, पाताले गुफा, हरेलो डाँडाजस्ता ऐतिहासिक महत्व बोकेका पर्यटकीय स्थलहरु रहेका छन् । ती पर्यटकीय स्थलको संरक्षण र संवद्र्धनका लागि संघ, प्रदेश र स्थानीय सरकारले पूर्वाधार निर्माणको कार्य गरिरहेका छन् ।

अन्तिममा अहिले नै भनिहाल्न नसकिने तर योजना सञ्चालन हुन्छ भन्नेमा तपाईं ढुक्क हुनुभएका त्यस्ता केही योजना छन् कि ?

अवश्य छन्, गाउँपालिकाको स्थायी प्रशासनिक भवन बनेको छैन, त्यसका लागि जग्गा प्राप्त भइसकेकाले बजेट विनियोजन भई निर्माण प्रक्रियामा जानेमा म ढुक्क छु। त्यस्तै गाउँपालिकाभित्रका आधाजति घरधुरीलाई शुद्ध खानेपानीको आपूर्ति गर्न सक्ने मुहानको सुनिश्चितता र सहमति भइसकेको साथै सम्बन्धित नगरपालिकाले स्वीकृति पनि दिइसकेको र जिल्ला खानेपानीले योजना मागको सिफारिससमेत गरिसकेकाले उक्त कागजातसहित योजना माग गरेका छौँ । त्यसका लागि बजेट विनियोजन भई काम शुरु हुन्छ भन्नेमा म ढुक्क छु। जरायोटार प्रहरी चौकी भवन निर्माणका लागि आवश्यक कागजात पेस गरी योजना माग गरेको र गृह सचिवले स्थलगत अवलोकन समेत गरिसक्नुभएकाले भवन निर्माण हुने कुरामा ढुक्क छु। प्याउली–याकु–भोर्लाबोट सडक निर्माणका लागि सम्बन्धित निकायबाट कम्तीमा ४ करोड बराबरको बजेट विनियोजन गरिदिने प्रतिबद्धता व्यक्त भएकाले चाँडै सडक निर्माण हुनेमा ढुक्क छु। बन्चरेडाँडा–चरम्बी–याङपाङ हुँदै षडानन्द नगरपालिकासम्म जोडिएको मोटरबाटोलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी बजेट विनियोजन गरिदिन्छौँ भन्ने भरपर्दो निकायबाट आश्वासन पाएकाले त्यसमा ढुक्क छु र पालिकास्तरीय खेलमैदानका लागि डीपीआरसहितको योजना माग गरी सम्बन्धित निकायबाट बजेट विनियोजन गरिदिने आश्वासन पाएकोमा त्यसमा समेत ढुक्क छु।

प्रतिक्रिया दिनुहोस्