पर्खी बसेँ तिमीलाईबाट सुनौलो भविष्यको प्रतीक्षामा रक्षा



काठमाडौं ।

लोकप्रिय सञ्चारकर्मी तथा फिल्म निर्देशक दीपक श्रेष्ठद्वारा निर्देशित २८औं फिल्म पर्खी बसेँ तिमीलाईबाट नेपाली रजतपटमा डेब्यु पाएकी नवअभिनेत्री रक्षा बुढाथोकी यति बेला आफ्नो फिल्मलाई लिएर उत्साहित छिन्।

आफ्नो पहिलो फिल्मलाई लिएर आशावादी देखिएकी रक्षा पर्खी बसेँ तिमीलाईबाटै आफ्नो भविष्य सुनौलो देखेको बताउँछिन्। ‘काम गर्दै जाँदा एउटा पोइन्टमा पुग्छु भन्ने कन्फिडेन्स बढेको छ’ रक्षा भन्छिन्।

सानैदेखि कला क्षेत्रमा रुचि राख्ने उनमा अभिनेत्री बन्ने इच्छा पहिलदेखि नै रहेछ। ‘म सानैदेखि एक्टिङमा रुचि राख्थेँ। स्कुलमा सुट गर्न आउँदाखेरि रमाइलो लाग्थ्यो। एक्ट्रेस बन्ने इन्ट्रेस्ट थियो। स्कुल तथा कलेजको प्रोगामका ड्रामामा खेल्थेँ, डान्स पनि गर्थेँ, आफ्नो रुचिको विषयलाई करिअरको रूपमा अघि बढाउनु अघि अभिनय र नृत्यसम्बन्धि तालिमसमेत लिएकी रक्षाले सुनाइन् ‘करिब ६ महिना एक्टिङ र थिएटरसम्बन्धि ट्रेनिङ गरेको छु।’

ठूलो पर्दाको फिल्ममा डेब्यु गर्नुअघि करिब आधा दर्जन म्युजिक भिडियोमा मोडलिङ र अभिनय गरेकी रक्षाले पर्खी बसेँ तिमीलाईभन्दा अघि फिल्म लाखेमा अडिसनबाट छानिएर सानो भूमिका निर्वाह गरेकी थिइन्।

पर्खि बसेँ तिमीलाईमा भने अभिनेत्रीको रूपमा काम गरेकी उनी फिल्म खेल्दाको अनुभवबारे भन्छिन, ‘बाहिर बसेर फिल्ममा कलाकारले काम गरिरहेको हेर्दा त इजी नै लाग्छ। काम भइरहेको छ के नै छ र भन्ने हुन्छ। तर, आफैंले काम गर्दाचाहि“ धेरै नै मेहनत गर्नुपर्ने रहेछ। जाडो गर्मी केही भन्न पाइँदैन। खानाको समय पनि मिल्दैन, कामलाई कसरी राम्रो गरौं भन्नेमै ध्यान हुन्छ।’

कला क्षेत्रमा मोडलको रूपमा दुई तीन वर्ष बिताएकी रक्षा डेब्यु फिल्मको कथा खुलाउँदै भन्छिन् ‘यो ‘यो फिल्म लभस्टोरीमा आधारित छ। जसमा केटाचाहि“ गरिब हुन्छ भने केटीचाहिँ हाई प्रोफाइलको हुन्छ। टिनएजहरूलाई रिलेटेबल लाग्ने खालको छ।’

होम प्रोडक्सनकै म्युजिक भिडियो र फिल्ममा काम गरेकी उनले राम्रो अफर आएमा बाहिरको फिल्ममा पनि काम गर्ने सोच बनाएकी छन्।फिल्ममा रक्षाका साथमा अभिनेता किरण श्रेष्ठले पनि डेब्यु पाएका छन्।

राजाराम बुढाथोकी निर्माता रहेको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन्।

परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन तथा भुपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्म रोमान फिल्म र तपश्री फिल्म्स् (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण भएको छ।

प्रतिक्रिया दिनुहोस्