ब्राइट फ्युचरमा भव्य स्वागत



काठमाडौं ।

नवअभिनेत्री रक्षा बुढाथोकीलाई राजधानीको नैकापस्थित उनले अध्यन गरेको ब्राइट फ्युचर स्कुलले एक भव्य कार्यक्रम आयोजना गरी फिल्म क्षेत्रमा स्वागत र शुभकामना व्यक्त गरेको छ।

सोमबार स्कुल परिवारले आगामी पुस २७ गते प्रदर्शनमा आउने फिल्म पर्खी बसेँ तिमीलाईकी नव अभिनेत्री बुढाथोकीसँगै अभिनेता किरण श्रेष्ठ, निर्देशक दीपक श्रेष्ठ र निर्माता राजाराम बुढाथोकीलाई स्कुलको प्रांगणमा स्वागत गर्दै फिल्मको सफलताको लागि शुभकामना दिएको छ।

स्कुलका प्रधानाध्यापक मोहन कार्कीले अभिनेत्री बुढाथोकीको बाल्यकाललाई स्मरण गर्दै उनको प्रतिभाको तारिफ गरे।

‘उनी (रक्षा) बाल्यकाल देखि नै नृत्य गर्थिन्। उनमा कलाकारिताको स्वभाव त्यतिबेलै बाट देखिएको थियो। अहिले उनको पहिलो फिल्म प्रदर्शनको तयारीमा छ। त्यसैले हामी विद्यालय परिवार उनको र उनले खेलेको फिल्मको सफलताको कामना गर्दछौँ’ कार्यक्रममा कार्कीले भने।

उनले रक्षाको सफलताले उक्त क्षेत्रमा जान चाहने अन्यलाई पनि प्रोत्साहन गर्ने भएकाले स्कुलकै प्रांगणमा कार्यक्रम गरिएको जानकारी गराए।स्कुल जीवन सकाएपछि पुनः स्कुलमै पुगेर आफ्नो कलाकारिताको यात्रामा हौसला पाउँदा खुसी लागेको अभिनेत्री बुढाथोकीले बताइन्।

‘यहाँ आएपछि मैले पुराना समय स्मरण गरेँ। कीनकि, पढाइसँगै कलाकारिताको प्रारम्भ यहीँबाट भएको थियो। आज यहीँबाट शुभकामना र आशिर्वाद पाउँदा धनी भएँ, अभिनेत्री बुढाथोकीले भनिन्, ‘पहिलो फिल्म भएता पनि सक्दो मेहनत गरेकी छु। आज यहाँ पाएको मायाले मेरा जुनियरलाई प्रेरित गर्नुका साथै मलाईसमेत हौसला मिलेको छ।’

सँगै रहेका अभिनेता श्रेष्ठले रक्षाका साथमा फिल्मको चर्चित गीत कालो चस्मामा नृत्य गरेका थिए । ‘हाम्रो फिल्ममा प्रेम कथास“गै सामाजिक विषय पनि समेटिएको छ। त्यसैले, यो स–परिवार सबैले हेर्न पाउनुहुनेछ’, अभिनेता श्रेष्ठले भने।

निर्देशक श्रेष्ठले यो पर्खिरहेको व्यक्तिको कथा रहेको बताए। ‘हामी एउटा सुन्दर कथा लिएर आएका छौँ। यसले सबै वर्गको दर्शकलाई आकर्षित गर्छ भन्नेमा विश्वस्त छौँ’, निर्देशक श्रेष्ठले भने।

प्रतिक्रिया दिनुहोस्