धरानका मेयर साम्पाङलाई सघाउँदै पर्खी बसेँ तिमीलाई



काठमाडौं ।

धरानका निर्देशक दीपक श्रेष्ठको निर्देशनमा बनेको पछिल्लो फिल्म पर्खी बसेँ तिमीलाईले धरानका मेयर हर्क सँम्पाङले निर्माण गर्न लागेको सुम्निमा–पारुहाङको प्रतिमा निर्माणमा सघाउने भएको छ।

फिल्मको निर्माण समूहले पर्खी बसेँ तिमीलाईको एक शोको रकम प्रदान गरी मेयर सँम्पाङले निर्माण गर्न लागेको सुम्निमा–पारुहाङको प्रतिमा निर्माणमा सघाउन लागेको हो। फिल्मको निार्माण समूहले शुक्रबार धरान उपमहानगरपालिकाका मेयर साम्पाङलाई भेटेर सो जानकारी गराएको हो।

‘पर्खी बसेँ तिमीलाई नामको चलचित्रले सुम्निमा पारुहाङ प्रतिमा निर्माणमा एक शो बराबरको रकम सहयोग गर्ने भएको छ। निर्माता श्री दीपक श्रेष्ठ (धराने) लाई हार्दिक बधाई तथा शुभकामना। सबैले फिल्म हेरेर नेपाली उत्पादनलाई बढावा दिऔँ’ मेयर साम्पाङले भेटघाट र सहमतिपछि फेसबुकमा लेखेका छन्।

निर्देशक श्रेष्ठले फिल्ममार्फत दर्शकलाई हलमा मनोरञ्जनसँगै सामाजिक कार्यमा समेत सहभागिता जनाउन सो अभियानमा सघाउन लागिएको बताए।

‘हामी हाम्रो दायित्व हामीले पूरा गर्दैछौँ। हामीले फिल्ममार्फत पनि सन्देश दिएका छौँ। यो हामी सेलिब्रेटीको दायित्व पनि हो’, निर्देशक श्रेष्ठको भनाइ छ।

पर्खि बसेँको सफलतापछि त्यसकै सिक्वेलस्वरूप निर्माण भएको पर्खी बसें तिमीलाई निर्देशक श्रेष्ठको २८औँ फिल्म हो। निर्देशक श्रेष्ठले पर्खी बसेँमा राज बल्लभ कोइराला र युना उप्रेतीलाई ब्रेक दिएका थिए भने पर्खी बसें तिमीलाईमा किरण श्रेष्ठ र रक्षा बुढाथोकीलाई डेब्यु गराएका छन्।

राजाराम बुढाथोकीको निर्माणमा बनेको फिल्ममा किरण र रक्षाका साथमा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सनविक्रम राई, सुनिता श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन्। फिल्म यही २७ गते अल नेपाल रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्