अमेरिकामा आप्रवासी गीतकार संघ गठन



काठमाडौं ।

उत्तर अमेरिकामा रहेका गीतकार एवं सर्जकहरूद्वारा गीतकार हरि उप्रेतीको नेतृत्वमा आप्रवासी नेपाली गीतकार संघ अमेरिका स्थापना गरिएको छ।

संघमा साहित्यकार एवं गीतकार अनु शाह उपाध्यक्ष, गीतकार नारद रिजाल, महासचिव, गीतकार रमेश लुइ”टेल कोषाध्यक्ष तथा गीतकार डा. राजेश कुमार शाक्य, गीतकार एवं साहित्यकार केशव वैरागी, गीतकार एवं गायक तिलचन आचार्य र गीतकार सुनिता थापा बस्नेत बोर्ड अफ डाइरेक्टर रहेका छन्।

त्यसैगरी, प्रमुख संरक्षकमा गीतकार एवं साहित्यकार ज्ञानेन्द्र गदाल, अन्तराष्ट्रिय संयोजक तथा प्रमुख प्रेस सल्लाहकारमा सञ्चारकर्मी सूर्य चन्द र नेपाल संयोजकमा म्युजिक भिडियो निर्देशक तथा कार्यक्रम प्रस्तोता प्रहिल कार्कीलाई मनोनयन गरिएको छ।

अमेरिकाको ओहायो राज्यमा संस्थाको केन्द्रीय कार्यालय रहनेछ। त्यसैगरी, संस्थालाई भविष्यमा अन्य देशहरू तथा अमेरिकाको विभिन्न राज्यहरूमा पनि शाखा कार्यालय स्थापना गरिने अध्यक्ष हरि उप्रेतीले जानकारी गराउनुभयो।

संस्था स्थापना गर्नुको प्रमुख उद्देश्य परदेशमा वा प्रवासमा रहेका गीतकार तथा सर्जकहरूलाई आफ्ना सिर्जना पस्कने आधिकारिक र साझा थलो निर्माण गर्नु रहेको छ।

त्यसका साथै नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनु, सिर्जनामार्फत आफ्नो भाषा साहित्यलाई संरक्षण र प्रवद्र्धन गर्दै पुस्तान्तरण गर्नु रहेको छ।

जहाँ र जुन देश अनि परिवेशमा रहे पनि आफ्नो संस्कृति र मौलिक पहिचान सर्वोपरि हुन्छ त्यसको संरक्षण भाषाका माध्यमबाट मात्र सम्भव हुने भएकाले यो संस्थाको आवश्यकता रहेको अध्यक्ष उप्रेतीले जानकारी गराउनुभयो।

आगामी दिनहरूमा नयाँ सर्जकहरूलाई गीत लेखनमा प्रशिक्षण दिई सिर्जनाको स्तरलाई वृद्धि गर्ने संस्थागत उद्देश्य रहेको बताए।

गीत सिर्जनामार्फत सर्जकहरूले सामाजिक परिवर्तन गराउन सक्ने र जीवन दर्शनलाई प्रवाहित गर्न सक्ने भएकाले सिर्जना पस्कन निरन्तर प्रोत्साहन गर्ने प्रवासमा रहेर पनि नेपाली गीत संगीत र साहित्यमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई सम्मान गर्दै अगाडि बढ्ने अर्को महत्वपूर्ण उद्देश्य रहेका छन्।

हालसम्म संस्थाले प्राप्त गर्नुपर्ने आधिकारिक प्रमाणपत्र राज्य सरकारबाट प्राप्त भइसकेको र आन्तरिक राजस्व विभागबाट पनि मान्यता प्रदान गरेको कुरा अध्यक्ष उप्रेतीले जानकारी गराउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्