वसन्त चौधरी अब कार्यक्रम प्रस्तोता



काठमाडौं ।

ख्यातिप्राप्त गीतकार, कवि, साहित्यकार तथा उद्योगपति वसन्त चौधरी अब दर्शकमाझ कार्यक्रम प्रस्तोताका रूपमा प्रस्तुत हुने भएका छन्।

गीतकार तथा उद्योगपति चौधरी सिजी इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको टक शो मनका कुरा विथ वसन्त चौधरीमार्फत कार्यक्रम प्रस्तोताको रूपमा दर्शकमाझ प्रस्तुत हुन लागेका हुन्।

टक शो तथा सिजी इन्टरटेनमेन्टका आगामी गतिविधि र योजनाका बारेमा जानकारी दिन बिहीबार राजधानीको लैनचौरस्थित मल्ल होटलमा आयोजित पत्रकार सम्मेलनमा आज शुक्रबारबाट सिजी इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सो कार्यक्रम सुरुवात जानकारी गराइएको छ।

हरेक शुक्रबार राति आठ बजे हेर्न सकिने टक शोको पहिलो एपिसोडमा ख्यातिप्राप्त बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाका साथ चौधरीले गरेको समसामयिक कुराकानी प्रस्तुत गरिनेछ।

कार्यक्रममा वसन्तले विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वका साथ भलाकुसारी गर्नेछन्। कार्यक्रममा बोल्दै सिजी इन्टरटेन्मेन्टका सह–अध्यक्ष तथा ख्यातिप्राप्त अभिनेता हरिहर शर्माले वसन्त चौधरीलाई धेरैले उद्योलगपतिका रूपमा चिन्ने गरे पनि युवा अवस्थादेखि नै लेखन कार्यलाई जारी राखेको र हालसम्म त्यसलाई निरन्तरता दिँदै आएका वसन्तको टक शो रोचक हुने जानकारी गराए।

‘वसन्तजीले नेपाली भाषा र साहित्यलाई काव्य र गद्यको माध्यमबाट संसारका विभिन्न स्थानमा फैलाउनु भएको छ। एउटा सफल व्यवसायी मात्र नभई कविता, आलेख, कथा, काव्य समालोचना आदिको माध्यमबाट साहित्यको सेवा गर्दै आउनुभएको वसन्तजीले आफ्नो जीवनको छैटौं दशकको माध्यतिर आउँदा विद्युतीय माध्यमबाट मनका कुरा विथ वसन्त चौधरीमार्फत दर्शकसँग साक्षात्कार गर्दै हुनुहुन्छ। तर, उहाँ अत्यन्तै जरुरी कामको कारण दुबई जानुपरेकोले उहाँ विना पनि उहाँको तर्फबाट यो कार्यक्रम गरिएको हो’ शर्माले भने।

सिजी इन्टरटेन्मेन्टका प्रमुख कार्यकारी निर्माता, गीतकार तथा फिल्मकर्मी राजेन्द्र सलभले १३ वर्षअघि सिजी इन्टरटेन्मेन्टको स्थापना भएको स्मरण गर्दै बीचको अवधिमा मौन रहे पनि अब भने सक्रिय रूपमा कार्यक्रम प्रस्तुत गर्ने बताए।

‘सिजी इन्टरटेन्मेन्टमार्फत हामीले भिजा गर्ल नामक फिल्म पनि निर्माण गर्‍यौं भने गीत तथा छोटा फिल्म पनि निर्माण गर्‍यौं। बीचको अवधिमा मौन रहे पनि अब भने सक्रिय रूपमा केही न केही कार्यक्रम दर्शकमाझ प्रस्तुत गर्नेछौं’ शलभले भने। उनले अब युट्युब च्यानलमाफर्त साप्ताहिक रूपमा विभिन्न कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने जानकारी गराए।

‘मनका कुरा विथ वसन्त चौधरीको अलावा स्पेसिफिक टपिकमा आधारित विअन्ड नलेज नामक पोडकास्ट, अभिनेता तथा निर्देशक नीर शाहको लेखन र निर्देशनमा चिया गफ, अभिनेता हरिहर शर्माको लेखन निर्देशनमा मोनोलगसम्बन्धी लगायत विभिन्न कार्यक्रम सिजीको आफ्नै स्टुडियोमार्फत् उत्पादन र प्रसारण गरिनेछ’ उनले भने।

प्रतिक्रिया दिनुहोस्