मानव अस्तित्व रहेसम्म बुद्धकाे दर्शन जीवित रहन्छ : प्रधानमन्त्री दाहाल



नवलपरासी।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अस्तित्व रहँदासम्म बुद्धदर्शन जीवित रहने बताएका छन् । विश्वशान्तिको कामना गर्दै पश्चिम नवलपरासीको रामग्राम स्तुपमा आज आयोजित विशेष कार्यक्रममा उनले विश्वशान्ति आजको आवश्यकता रहेको बताउँदै हामी यो सन्देश विश्वभर फैलाउन सफल भएको उल्लेख गरे ।

भगवान गौतमबुद्धले दिएको उपदेशको आवश्यकता र औचित्य अहिले थप पुष्टि भएको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले त्यस अवसरमा रामग्राम स्तुप विकासको गुरुयोजना कार्यान्वयनको प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले रामग्राम स्तुप क्षेत्रको पुनःस्थापना, संरक्षण र विकासका लागि दुरदर्शी काम गर्ने बताए । यस कार्यक्रमले विश्वशान्तिका लागि ठूलो सन्देश दिने भन्दै उनले संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेस र आफूले लुम्बिनीमा विश्वशान्तिको कामनाका लागि प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरे ।

“आजको कार्यक्रमले विश्वसामू नयाँ सन्देश जाने मात्र होइन, रामग्राम स्तूप र समग्र लुम्बिनी क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ”, प्रधानमन्त्री दाहालले भने । बुद्धकालीन सम्पदाको संरक्षण र विकासका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरिएको बताउँदै उनले बुद्धको दर्शन, विचार र उपदेशबाट आफू सधैँ प्रेरित भएको हुँदा बुद्धकालीन सम्पदाको विकासमा आफूले महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्