भारतसँगको सम्बन्धलाई उपयोग गर्नुहोस् : भारतीय कूटनीतिज्ञ पंकज शरण



काठमाडौं।

भारतका कूटनीतिज्ञ पंकज शरणले राम्रो वा नराम्रो दुवै समयमा नेपालले भारतसँगको सम्बन्धलाई उपयोग गर्न सुझाव दिएका छन्  । नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (नीस) र भारतको सेन्टर फर रिसर्च अन स्ट्रेटेजिक एण्ड सेक्युरेरिटी इस्युज (नाटस्ट्राट) ले संयुक्त रुपमा बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भारतीय कूटनीतिज्ञ पंकज शरणले यस्तो सुझाव दिएका हुन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपसुरक्षा सल्लाहकार समेत रहीसकेका पंकजले भने- ‘यदि भारत नेपालको कुनै पनि समस्या समाधानका लागि झट्का अवशोषक बन्न सक्छ भने यसको उपयोग गर्नुहोस् । नेपालले राम्रो र नराम्रो दुवै समयमा भारतसँगको सम्बन्धलाई उपयोग गर्न सक्नुपर्छ । राम्रो समयमा आर्थिक उन्नतिलाई अगाडि बढाउन योजना र रणनीति बनाउँदै अवसरहरुको खोजी गर्नुपर्छ भने नराम्रो समय, उदाहरणको लागि भूकम्प जस्तै प्राकृतिक प्रकोपको समयमा पनि सबैभन्दा छिटो उद्धार कार्य र राहतको लागि भारतको उपयोग गर्न सकिन्छ । त्यसैगरी यस्ता समस्यासँग जुध्न प्रविधिको विकासका लागि पनि भारतको सहयोग लिन सकिन्छ ।’

 कार्यक्रममा उनले नेपाल र भारत दुवै देशले एकअर्काप्रति राखेको अपेक्षाको बेमेलका कारण समस्या उत्पन्न हुने गरेको जिकिर गर्दै भारत ठूलो देश भएकोले ठूलो देशले सानो देशलाई कसरी व्यवहार गर्नुपर्छ र नेपालले सानो देशले ठूलो देशलाई कसरी व्यवहार गर्नुपर्छ भन्नेतर्फ पनि ध्यान पुर्‍याउनुपर्ने बताए ।

कार्यक्रममा पूर्वमन्त्रीद्वय डा. मिनेन्द्र रिजाल र सुनिलबहादुर थापा, पूर्व राजदूत डा. शम्भुराम सिंखडालगायतले नेपाल भारतबीचको सम्बन्ध र समस्याका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाल-भारत सम्बन्धका पक्षहरूसम्बन्धी विशेष प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्