बालबालिकालाई एडल्ट फिल्म देखाउने वन सिनेमाजलाई कारबाही सिफारिस



काठमाडौँ।

राजधानीको नयाँ बानेश्वरस्थित फिल्म हल वन सिनेमाज बालबालिकालाई फिल्म एनिमल देखाएपछि कारबाहीमा पर्ने भएको छ।
सेन्सर बोर्डबाबाट १६ वर्ष माथिका उमेर समूहले मात्र हेर्न मिल्ने गरी ए (एडल्ट) प्रमाणपत्र प्राप्त गरेको फिल्म सो उमेर समूहभन्दा तलका बालबालिकालाई देखाएपछि चलचित्र विकास बोर्डले उक्त हललाई कारबाहीका लागि सिफारिस गरेको हो। ए ग्रेटेड फिल्म बालबालिकालाई देखाउनु गैरकानुनी भएकाले उक्त हललाई कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको बोर्डले जानकारी गराएको छ।

गत सोमबार साँझ ६ः३० बजे फिल्मको शो चलिरहेका बेला प्राप्त सूचनाका आधारमा तथ्य जाँचका लागि वन सिनेमाज पुगेको विकास बोर्डको टोलीले बालबालिकालाई टिकट बिक्री गरी देखाइरहेको भेटेको थियो। हल व्यवस्थापनलाई ती बालबालिकाको टिकट तत्काल फिर्ता गर्न लगाई कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको बोर्डले जनाएको छ।

बालबालिकालाई एडल्ट फिल्मको टिकट बिक्री नगर्न पनि बोर्डले अनुरोध गरेको छ। ‘कानुनविपरीत बालबालिकालाई एडल्ट फिल्मको टिकट बिक्री गर्ने हललाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ’ अनुगमन समितिका संयोजक राजु केसीले भने ‘कानुनले वर्जित गरेको कार्य गरेको भेटिएमा कानुनबमोजिम आवश्यक कारबाही हुनेछ।’

प्रतिक्रिया दिनुहोस्