सीआईडी फ्रेडरिक रहेनन्



भारतीय टेलिभिजन च्यानल सोनीेको चर्चित टेलिसिरियल सीआईडीमा फ्रेडरिकको भूमिका निर्वाह गरेर चर्चा कमाएका भारतीय टेलिभिजन अभिनेता दिनेश फडनिसको मंगलबार निधन भएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार मुम्बईस्थित तुंगा अस्पतालमा उपचार गराइरहेका अभिनेताको मंगलबार बिहान १२.०८ मा निधन भएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनलाई हृदयाघात भएको खबर आए पनि दिनेशका सहकर्मी दयानन्द शेट्टीले उनमा हृदयाघात नभई कलेजोसम्बन्धी समस्याका कारण स्वास्थ्यमा जटिलता उत्पन्न भएको पुष्टि गरेका थिए।

स्वास्थ्यमा भएको गम्भीर जटिलता सुधार नभएपछि उनलाई मंगलबार भेन्टिलेटरबाट हटाइएको थियो। उनको अन्तिम संस्कार मुम्बईको दौलत नगर श्मशान गृह, बोरिवली पूर्वमा गरिएको छ। दिनेश सन् १९९८ मा सोनी टेलिभिजनमार्फत पहिलोपटक प्रसारण भएर २० वर्षसम्म चलेको कार्यक्रम सीआईडीमा फ्रेडरिकको भूमिकामा निकै रुचाइएका थिए। उनले लोकप्रिय सिरिज तारक मेहताका उल्टा चश्मालगायत सानो पर्दाका कार्यक्रम तथा सुपर–३० र सरफरोस जस्ता ठूलो पर्दाका फिल्ममा पनि अभिनय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्