नाटकमा मृत्यु र समय चक्र



काठमाडौँ।

राजधानीमा नाटक कालको मञ्चन शुरु भएको छ।
काल अर्थात् मृत्यु र समय चक्र। नाटकले यी दुवैलाई छुने प्रयास गरेको छ। नाटक एक सामाजिक कथामा छ, जसमा कहीं न कहीं आफैलाई महशुस गर्न सकिन्छ।

नाटकले वर्तमान विश्व परिवेशमा देखापरेको आर्थिक मन्दीलगायतका प्राकृतिक तथा सामाजिक कारणले मनोवैज्ञानिक रोगको शिकार भएकाहरू, जो आफूलाई दुर्बल ठानेर आत्महत्याको बाटो रोजिरहेका छन्, उनीहरूको मनोवैज्ञानिक उपचारको वकालत गर्ने प्रयास गरेको छ। नाटकलाई नाट्य विधाको रूप दिएर प्रस्तुत गर्दै भनिएको छ मृत्यु रोज्ने मान्छेको मृत्यु खोज्ने जागिर।

शंकर खरेलको काल कथाबाट प्रभावित भई नाटक लेखिएको यसका लेखक तथा निर्देशक रामभजन कामतले बताए। नाटक तयार पार्दा आफू नाटककारको रूपमा पूर्णरूपमा रहन नसकेको उनको भनाइ छ। ‘एउटै व्यक्ति लेखक र निर्देशकको रूपमा काम गर्दा गाह्रो हुँदोरहेछ’ कामतले बताए ‘निर्देशकले कलात्मक कथा खोज्छ, तर लेखक आप्mनो लेखन अडान छोड्न चाहदैन। यो अवस्था धेरैले भोग्नुभएको होला।

नाटक तयार गर्ने क्रममा कयौंपटक तथ्यगत सामग्री खोज अनुसन्धान गर्दा कैंयौंपटक गुगलले तिमीलाई मानसिक डाक्टरको आवश्यकता छ भनेर सुझाव पनि दिए।’ राजकुमार पुडासैनीको प्रकाश परिकल्पना रहेको नाटकको सहायक निर्देशकको रूपमा सुवास तिमल्सिना रहेका छन् भने सुनील पोखरेल, प्रवीण खतिवडा, चन्द्र नेपाली, निता राई केशव शाही, आशिष घिमिरे, अर्जुन शिवाकोटी, सन्देश कार्की, रोशनचन्द, सलिना क्षेत्री, सुरभी कामतले अभिनय गरेका छन्।

नाटकमा ध्वनि तथा संगीत परिकल्पना उत्सव बुढाथोकीको रहेको छ भने भेषभूषा नीता राई, सलिना क्षेत्री, मञ्च निर्माण हुम बी.सी, मञ्च व्यवस्थापन सुवास तिमल्सिनाको छ। थापागाउँको आरोहण गुरुकूल, कुञ्ज नाटकघरमा मञ्चन भइरहेको नाटक आगामी मंसिर ३० गतेसम्म मञ्चन हुनेछ।

प्रतिक्रिया दिनुहोस्