मनमोहन अधिकारीका अन्तिम शब्दहरू



स्थान:गोठाटार गाविस–७, ८ र ९ को केन्द्र ।
मिति:२०५६ वैशाख ६ गते
समय: बिहान ८ः३०

बिहान ८ः३० बजे मनमोहन अधिकारी गोठाटार पुग्नासाथ नेकपा (एमाले)को तयारी चुनावीसभा शुरू भयो । करिब एक घण्टा अरू वक्ताको भाषण सुन्नु हुँदासम्म नै केही अप्ठ्यारो महसुस गर्नुभएको थियो । अधिकारीलाई अप्ठ्यारो भएको महसुस गरिएपछि कार्यक्रम आयोजकहरूले नबोल्न आग्रह गरे । तर उहाँले बोल्छु भन्नुभयो ।

बोलेरै छाड्ने दृढता व्यक्त गरेपछि सबैले अध्यक्ष अधिकारीलाई बसेरै बोल्न आग्रह गरे सो आग्रहलाई स्वीकार गरेर बसेरै अप्ठ्यारो अप्ठ्यारो गरी करिब ३०–३५ मिनेट भाषण गर्नुभयो । उहाँको भाषण सकिएपछि कार्यक्रमका सभापतिले सम्बोधनसहित सभा विसर्जन गरे । सोही गाविसमा सामूहिक खाना खाने कार्यक्रम भए पनि अध्यक्ष अधिकारीले घरमै जाने भन्नुभयो भने केहीले अस्वस्थताको महसुस गर्नुभएको हुनाले सिधै अस्पताल लैजानुपर्ने बताए । उहाँ आफ्नो गाडीतर्फ लाग्नुभयो आफैँ गाडी चढ्नुभयो । गाडीको ढोका लगाई गाडी स्टार्ट हुनासाथ उहाँ सिटमै अकस्मात बेहोस हुनुभयो । त्यतिखेर बिहानको १०ः२५ देखि १०ः३० जति समय भएको हुनुपर्छ ।

भाषण सुन्न जानुभएकी स्टाफ नर्स कमलेश रिजाल पनि उहाँकै गाडीमा रहनुभएको थियो । करिब २०–२२ मिनेट गोठाटारबाट शिक्षण अस्पताल पुग्न लाग्यो । त्यतिखेर चिकित्सकले जाँच गर्दा हृदयगति, नाडी, श्वासप्रश्वास तीनै बन्द थिए । त्यसपछि पीसीआर गरेपछि हृदयगति सञ्चालन भयो र उहाँलाई कृत्रिम श्वास दिई सघन कक्षमा भर्ना गरियो । त्यसरी कृत्रिम श्वासका आधारमा बेहोस अवस्थामै सात दिनसम्म रहनुभयो । नेपालका वरिष्ठ चिकित्सकहरू अहोरात्र उपचारमा खटिए तर उहाँको स्वास्थ्यमा कुनै प्रगति भएन ।

अध्यक्ष अधिकारीको अन्तिम सम्बोधन गोठाटारकै हुन पुग्यो । गोठाटारको करिब आधा घण्टाको महत्वपूर्ण अंशः अन्तिम भाषणको महत्वपूर्ण अंश:

आदरणीय सभापति महोदय, आदरणीय जनसमुदायहरू ! सर्वप्रथम नव वर्षको शुभकामना व्यक्त गर्दछु । नव वर्षसँगै मुलुकमा आम निर्वाचन हुन गइरहेको छ र त्यो निर्वाचनले आगामी सरकार सञ्चालनका लागि कुनै पार्टीलाई बहुमत दनुपर्छ । हुन त बहुमत कसैको नआओस् भन्नेहरू अझै पनि सक्रियताका साथ लागेका छन् । तिनीहरूबाट सबै सतर्क हुनुपर्छ । फेरि पनि तस्कर माफियाको निर्देशनमा सांसद किनबेच होस् भन्ने छन् यो बुझ्नु आवश्यक छ ।

२००७ साल, २०५१ साल, २०४८ साल हुँदै आजसम्म नेपाली कांग्रेसले सबै खालका सरकार सञ्चालन ग¥यो । उसले काम गर्ने अवसर प्रशस्त पायो । तर जनताको निम्ति, राष्ट्रको विकासको निम्ति ठोस् काम गर्न सकेन । त्यस कारण नेपाली कांग्रेसलाई निर्वाचनमा बहुमत माग्ने नैतिक अधिकार पनि छैन । अरू पञ्चहरूको त कुरै छोडौं ।

त्यसैले आदरणीय जनसमुदायहरू मुलुक सञ्चालन गर्ने एक मात्र सक्षम पार्टी नेकपा(एमाले) नै हो र यस पार्टीलाई बहुमत दिएर एक पटक एमालेको कार्यकाल जनताले जाँच्ने मौका पाउनुपर्छ । त्यो मौका दिँदा पनि एमालेले गरेन भने भन्ने कुरा हो । तर हेर्नुस्, एमालेले गर्छ भन्ने सारा दुनियाँलाई थाहा छ । एमालेको नौ महिने कार्यकाललाई मात्रै हेर्नुभयो भने पनि स्पष्ट हुन्छ एमाले जनता र राष्ट्रका लागि सबै छोडेर गर्ने पार्टी हो ।

नौ महिने कार्यकालको लोकप्रियताबाट अत्तालिएर विपक्षीहरूले काम गर्न दिएनन् । त्यति मात्र कहाँ हो र संविधानले दिएको अधिकार प्रयोग गरी मुलुकको राजनीतिक स्थितिलाई ठोस् विश्लेषण गरी अब यो संसद्को काम छैन, यसले मुलुकको, हित गर्न सकेन त्यसैले यो संसद्लाई बिदा दिएर चुनावमा जानुपर्छ भन्ने सिफारिस गरियो । तर त्यो संवैधानिक अधिकारलाई सम्मानित सर्वोच्च अदालतलाई प्रयोग गरी ठाडै हनन गर्ने काम भयो ।

जब कानुनी मान्यतालाई कसैको निर्देशनमा अदालतबाट ठाडै चुनौती दिने काम भयो, त्यसपछि मुलुक अस्थिर बन्दै गयो । संसद्मा सबै खाले विकृति जन्मिए, हुँदाहुँदै सत्ता परिवर्तनका खेलले तस्कर, माफियालगायत त्यस खालका व्यक्तिलाई सक्रिय बनायो र मानौ संसद् नै उनीहरूको नियन्त्रणमा हो कि जस्तो देखियो । त्यहाँभित्र विकृति के हुन्छ वास्तवमा त्यो विकृतिको जिम्मेवारी संवैधानिक अधिकार कुल्चेर यो अवस्थामा पु¥याउनेहरूले लिनुपर्छ ।

मुलुक झन्पछि झन् खाडलतर्फ धकेलिँदै गयो, विकृति बढ्दै नै गयो । हामीले बारम्बार यसको अन्त्य आम निर्वाचन नै हो भन्दै आयौं तर पनि मौलाउन पाएका माफियाहरूले राजनीतिज्ञलाई हात लिए र देशले ठूलो बरबादी सहनुप¥यो । राष्ट्रिय चिन्तन, विकासको अवधारणा र एक्काइसौं शताब्दीका विशाल सम्भावनाहरूलाई पहिल्याई मुलुकलाई आमूल परिवर्तनको दिशामा लैजाने एक मात्र पार्टी एमाले नै हो त्यसैले पनि आगामी निर्वाचनपछि मुलुक सञ्चालन गर्ने दायित्व एमालेलाई दिने सबैसमक्ष आग्रह गर्दछु ।

मुलुक हरेक पक्षबाट अत्यन्तै गम्भीर स्थितिमा रहेकाले त्यसलाई ठीक ठाउँमा ल्याउन नेकपा एमाले मात्रै सक्षम पार्टी भएकाले सो पार्टीलाई जनताले बहुमत दिनेछन् भन्ने विश्वास छ । देशले राजनीतिक स्थिरता खोजेको छ, राजनीतिक स्थिरताविना सही योजना बन्न नसक्ने र सही योजना नभएपछि विकासभन्दा विनाश मात्रै हुने हुन्छ । त्यसैले मुलुकमा विद्यमान सबै राष्ट्रिय समस्या समाधान गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि हामी तयार छौं । मुलुकको आर्थिक स्थिति नाजुक बनेको मानव अधिकारको स्थिति नाजुक छ, बालबालिका, महिला शोषित छन, पीडित छन् । माओवादी समस्या पनि जटिल समस्या बनेको छ, जनता बिहानबेलुका पेटभरि खानबाट वञ्चित छन्, पूर्वमा मुसहरलगायत समस्या, पश्चिममा कमैया प्रथाको समस्या छन् । यस्तै आदि जता गयो समस्यै समस्याले देश आक्रान्त बनेको ती सम्पूर्ण समस्या समाधान गरी अगाडि बढ्नुपर्ने एक्काइसौं शताब्दीको चुनौती र आवश्यकता हो ।

जस्तो एमालेको नौ महिने सरकारले गरेका कामहरूबाट नेपाली जनता मात्र होइन, विदेशीहरूसमेत प्रभावित भए । नेकपा (एमाले) आगामी निर्वाचनपछि नौ महिने कार्यकालमा शुरू गरिएका विकाससम्बन्धी सबै कामहरूलाई निरन्तरता दिने पक्षमा छ । त्यो मौका यही निर्वाचनबाट एमालेलाई स्पष्ट बहुमतद्वारा नेपाली जनताले दिनेछन् भन्ने विश्वास छ । नौ महिने एमालेको सरकार गिराएर पनि एमाले लोकप्रिय हुँदै गयो । त्यो लोकप्रियताबाट अत्तालिएका देशीविदेशी एमाले विरोधीहरू लागेर पार्टी विभाजन गर्नेसम्मको अत्यन्तै दुःखलाग्दो काम भयो ।

हेर्नुन मैले पार्टी विभाजन नहोस् भनेर हर प्रयत्न गरें । मैले आफैँले मेरो निवासमा पटकपटक कुराकानी गर्न बोलाएँ विभिन्न अप्सनहरू पनि दिएँ । तर वामदेव गौतमहरूलाई पद चाहिएको रहेछ, ती अप्सनहरूको सुनवाइ भएन । नेकपा (एमाले)को छैटौं महाधिवेशनबाट अल्पमत पक्षले २८ प्रतिशत पाएको भए पनि त्यसभन्दा धेरै केन्द्रीय कमिटीमा राख्नेदेखि अनेक प्रस्तावहरू राखें, महाकाली सन्धि भारतलाई र अमेरिकालाई हेर्ने दृष्टिकोणमा उहाँहरूले भनेबमोजिम राख्ने कुरा भयो र राखियो पनि । यद्यपि त्यो शब्दको कुरा मात्रै रहेछ, वामदेवहरू अर्कैको निर्देशनमा पार्टी फुटाएर छोड्ने पक्षमा रहेछन् ।

जति अप्सन दिए पनि नहुने भनेपछि कुरा अर्कै रहेछ, पार्टी फोरेर छोड्ने मनस्थिति रहेछन् किन मान्थे भनेको । अन्तिममा संसदीय दल विभाजन गरेरै छोड्ने भनी संसद्मा सबै कुरा मिलाएको थाहा पाएपछि अझै पनि विभाजनबाट रोकिन्छ भने १० जनालाई कारबाही गरें । तर उनीहरू विभाजनतिरै लागे जसले गर्दा अत्यन्तै दुःखित तुल्यायो ।

अत्यन्तै लोकप्रिय बनेको पार्टीलाई फुटाएर केके न पाउँछौं भन्नेले खास केही पाउन सकेनन् किनभने संसदीय दल विभाजन गरे पनि एमालेको सङ्गठनमा कुनै असर परेन म स्वयं त्यसपछि ७० जिल्लामा पुगे, महासचिवलगायतका नेताहरू पुग्नुभयो र जनतालाई स्पष्ट कुरा राखियो जनता विभाजित भएनन् र आज पनि मुलुकको सबैभन्दा ठूलो पार्टीको रूपमा एमाले नै रहेको छ ।
त्यसैले हेर्नुस्, अत्यन्त सतर्क हुनुहोस् आगामी संसद् त्रिशङ्कु बन्न हुन्न । त्रिशङ्कु बन्यो भने देशले फेरि अरू जटिलताको सामना गर्नुपर्छ । त्यो जटिलताले गम्भीर सङ्कट निम्त्याउनसक्छ । त्यसकारण सबैभन्दा सक्षम पार्टी एमालेलाई बहुमत दिन पुनः आग्रह गर्दछु ।
–धन्यवाद

प्रतिक्रिया दिनुहोस्