समाचारपत्रकर्मी महर्जनलाई सुशासन पत्रकारिता सम्मान


ललितपुर ।

नेपाल समाचारपत्रका सहायक सम्पादक सुनील महर्जनसहित सात जना पत्रकारलाई ललितपुर महानगरपालिका–५ वडा कार्यालयले पहिलो पटक सुशासन पत्रकारिता सम्मान–२०८३ प्रदान गरेको छ ।

ललितपुरको सांस्कृतिक पहिचान प्रवद्र्धन गर्न सञ्चार माध्यममार्फत भूमिका निर्वाह गर्न महत्वपूर्ण योगदान पु¥याएबापत नेपाल समाचारपत्रका सहायक सम्पादक सुनील महर्जन, नृपेन्द्रलाल श्रेष्ठ, श्याम स्मृत, सुविनकुमार श्रेष्ठ, विश्वन्तर शाक्य, सनीराज शाक्य र रामराजा बज्राचार्यलाई सो सम्मान प्रदान गरेको हो ।

ललितपुर महानगरपालिका–५ वडा कार्यालयले आइतबार आयोजित बृहत् वडाभेलाको अवसरमा पत्रकारहरूलाई सो सम्मान प्रदान गरिएको थियो । सम्मानित हुने पत्रकारहरूलाई ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले फूलमाला लगाई र मेयर चिरिबाबु महर्जनले सम्मानपत्र प्रदान गर्नुभयो ।

सम्मानपत्रमा कला, संस्कृति, सम्पदाको संरक्षण र संवद्र्धन र वडाले गरेका पूर्वाधार तथा सामाजिक विकास तथा असल अभ्यास र सुशासनको प्रवद्र्धनमा पनि योगदान पु¥याएको उल्लेख गरिएको छ । सो अवसरमा सञ्चारकर्मी हर्कबहादुर श्रेष्ठ, सुदर्शन महर्जन र सुनीता विश्वकर्मालाई कदर प्रदान गरिएको थियो ।

वडाले यो सम्मान पहिलोपटक प्रदान गरिएको वडाअध्यक्ष विकासमान श्रेष्ठले बताउनुभयो । सञ्चार माध्यममा आएका सकारात्मक समाचार र आलोचना टिप्पणीसहित दुवैखालका समाचारको मर्मलाई आत्मसात् गर्दै काम गर्दै आएको अवस्थामा पत्रकारिता भूमिकालाई आत्मसात गरी सम्मान गरिएको वडाअध्यक्ष श्रेष्ठको भनाइ रहेको छ ।

सोही अवसरमा नेपालको परम्परागत नृत्य संस्कृतिको संरक्षण र अनुसन्धानमा जीवन समर्पित गर्नुभएकी नृत्यकलाविद् वीणा जोशी (राजभण्डारी) लाई ललितपुर गौरव सम्मान प्रदान गरिएको थियो । उहाँको १५ सय पृष्ठको नेवाः समुदायको मुखुण्डो नाच हालै प्रकाशित भएको थियो ।

सो सम्मानको नगद राशि २५ हजार रुपियाँ रहेको छ ।
त्यसै गरी बडीबिल्डर राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा परिचित खेलाडी उर्मिला श्रेष्ठलाई ललितपुर विशेष सम्मान प्रदान गरिएको थियो । सो सम्मानको नगद राशि पनि २५ हजार रुपियाँ रहेको छ ।